नेपथ्यको जापान यात्रा : ओशाकामा अन्तिम प्रस्तुती

सफल खबर संवाददाता

शुक्रबार, ०१ भदौ २०८०, २१ : २९
नेपथ्यको जापान यात्रा : ओशाकामा अन्तिम प्रस्तुती

ओशाका । आर्थिक महानगर ओशाकामा बिहीबार आफ्नो अन्तिम प्रस्तुती दिएसँगै लोकरक ब्याण्ड नेपथ्यले यो वर्षको श्रृंखलावद्ध जापान यात्रालाई विश्राम दिएको छ । अघिल्ला दुइ सहरहरु टोकियो र फुकुओकाजस्तै ओशाकामा पनि नेपथ्य प्रस्तुतीलाई भब्य दर्शक उपस्थितीले साथ दिएको थियो ।

‘यो सहरमा आजसम्म पाँच–छ सयभन्दा बढी नेपालीहरुको जमघट भएको रेकर्ड छैन,’ आयोजक टोलीका सबिन थकालीले भने, ‘१७ सय दर्शकहरु एकैपटक कन्सर्ट हेर्नका निम्ति उपस्थित भएको यो नै आजसम्मकै सबैभन्दा ठूलो नेपाली भेला बन्नपुग्यो ।’

ओशाकाको ‘नाम्बा ह्याच सभागृह’का ढोकाहरु बेलुकी ठीक साँढे पाँच बजे खुला गर्नासाथ दर्शकको उल्लेख्य उपस्थिती सुरुभइसकेको थियो । त्यसको ठ्याक्कै एक घन्टामा शो सुरुभयो ।
गायक अमृत गुरुङको नेतृत्वमा नेपथ्य टोलीले मञ्च प्रवेश गर्नासाथ पहिलो गीत ‘कोशीको पानी यो जिन्दगानी’ प्रस्तुत गरेको थियो ।

कार्यक्रम अवधिभर दर्शकसँग संवादसमेत गरेका अमृतले उपस्थित सबैलाई घरि नेपाल पुगेका बेला डाँडा–काँडाको यात्रा गर्न प्रेरित गरेका थिए भने घरि नेपाली भाषा र संस्कृतिलाई जीवित राख्न अनुरोध गरेका थिए । ‘यो जिन्दगानी’ गीत प्रस्तुत गर्नुअघि उनले हाम्रो समाज परम्परादेखि परोपकारी चरित्रको रहेको उल्लेख गर्दै त्यसलाई निरन्तरता दिन आव्हान पनि गरे ।

एकवर्ष यता नेपथ्यले सडक आश्रित मानवहरुका निम्ति खाना र बसोबासमा समर्पित मानवसेवा आश्रमसँग सहकार्य गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस