काठमाडौँ । थाइल्याण्डमा बसोबास गर्दै आएका नेपाली मूलका नेपालीभाषी थाई नागरिकहरुको एक समूहले गैरआवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग आग्रह गरेका छन् ।
मंगलबार थाई नेपाली संघ थाइल्याण्डका पदाधिकारीले अध्यक्ष तिमिल्सिनालाई सिंहदरबारमा भेटेर यस्तो आग्रह गरेका हुन । भेटमा अध्यक्ष तिमिल्सिनाले थाइल्याण्डमा बसोबास गरिरहेका नेपाली भाषी नागरिकका समस्याहरु समाधानका लागि आफ्नो ठाउँबाट पहल गर्ने आश्वासन दिएको उनका प्रेस सल्लाहाकार दुर्गाप्रसाद शर्माले जनाएका छन् ।
थाई र नेपालबाट दोस्रो विश्व युद्धताका म्यान्मार हुँदै थाइल्याण्ड पुगेका नेपाली नागरिकका चौथो पुस्तासम्म बसिसकेका छन । गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्ले उपलब्ध गराउने परिचयपत्र पाउन समेत थाईल्याण्डमा लामो समय बसोबास गरेका नागरिकलाई सदस्य बनाउन कठिन भएको छ । गैरआवासीय नेपाली संघको परिचयपत्र नहुँदा नेपालमा आवतजावत गर्न र अन्य सुविधाबाट वञ्चित हुनु परेको र नेपाली मौलिक संस्कार र संस्कृतिको बोध गराउनका लागि पनि परिचयपत्र आवश्यक भएको नेपाली संघ थाइल्याण्डकी अध्यक्ष वासाना राईले बताएकी छन् । थाईल्याण्डमा झण्डै १ लाख नेपाली भाषी नागरिक रहेको अनुमान छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ३० साउन २०८०, १६ : २४
लेखकबाट थप