रियललाई बर्नबेउ ‘ट्रफी’

एजेन्सी

आइतबार, २७ साउन २०७५, १२ : ०३
रियललाई बर्नबेउ ‘ट्रफी’


एजेन्सी । लगातार तेस्रो खेलमा गेराथ बेलले गोल गर्दा रियलले एसी मिलानलाई पराजित गर्दै ट्रोफेयो सान्टियागो बर्नाबेउमा कब्जा जमाएको छ ।

गत हप्ता रियलको अमेरिका टुरको दौरान युभेन्टस र रोमाबिरुद्ध गोल गरेका बेलले पहिलो हाफ सकिन लाग्दा इटालियन क्लबबिरुद्ध गोल गरेका थिए ।

खेलमा करिम बेन्जेमाले डानी कार्भाहालको क्रसमा गोल गर्दै रियललाई दोस्रो मिनेटमा नै अग्रता दिलाएका थिए ।

मिलानले लगत्तै जवाफ फर्कायो । दुई मिनेटपछि नै रियलका पूर्व खेलाडी गोन्जालो हिग्वाइनले १८ यार्ड टाढाबाट गोल गर्दै खेल बराबरी गए ।

खेलको २७ औँ मिनेटमा जियाकोमो बोनाभेन्चुराको प्रहारलाई रियलका गोलकिपर केलर नाभासले उत्कृष्ट बचाउ गरे ।

पहिलो हाफ सकिन लाग्दा कर्नरलाई क्लियर गर्न नसक्दा बेलले ६ यार्ड टाढाबाट रियललाई पुनः अग्रता दिलाए ।

खेलको अन्त्यतिर मिलानका गोलकिपर डोनारुमाले लुका मोड्रिचको प्रहारलाई बचाउ गरे भने रिबाउन्डमा बोर्जा मायोरालले गोल गर्दै रियललाई ३–१ को सहज जीत दिलाए ।

अब रियलले बुधबार एस्टोनियामा युइएफए सुपर कपमा एथ्लेटिकोको म्याड्रिडको सामना गर्नेछ ।

प्रतिक्रिया दिनुहोस