प्रिमियर लिग राउण्ड अप : चेल्सी र टोटनहम विजयी

एजेन्सी

आइतबार, २७ साउन २०७५, ११ : ४०
प्रिमियर लिग राउण्ड अप : चेल्सी र टोटनहम विजयी


एजेन्सी । हडर्सफिल्ड टाउनबिरुद्ध सहज जित निकाले पनि चेल्सीका नयाँ प्रशिक्षक माउरिजियो सारीले टोलीलाई पूर्णरुपमा तयार हुन अझै एकदेखि दुई महिना लाग्ने बताएका छन् ।

शनिबार भएको खेलमा चेल्सी ३–० गोलअन्तरले विजयी भएको हो । खेलको पहिलो हाफमा एनगोलो कान्टेले गोल गर्दै चेल्सीलाई अग्रता दिलाए भने डेब्यु गरिरहेका जर्गिन्होले पेनाल्टीबाट चेल्सीको अग्रता दोब्बर बनाए ।

खेलको अन्त्यतिर पेड्रोले तेस्रो गोल थपे । सन् १९९८–९९ सिजन यता चेल्सीले प्रिमियर लिगको पहिलो खेलमा हार बेहोर्नुपरेको छैन । त्यस्तै, टोटनहम हटस्पर्सले पनि घरेलु मैदानबाहिर न्युक्यासल युनाइटेडलाई २–१ गोलले अन्तरले पराजित गरेको छ ।

जान भेर्टोगनले हेडमार्फत स्पर्सलाई खेलको आठौँ मिनेटमा अग्रता दिलाएका थिए । तर, ११ औँ मिनेटमा जोसेलुले गोल गर्दै खेल बराबरीमा ल्याए । त्यसको ७ मिनेट पछि नै डेली अलीले सर्जी अरियरले गोल गर्दै टोटनहमलाई पुनः अग्रता दिलाए ।

त्यसपछि खेलमा गोल हुनसकेन र टोटनहमले तीन अंक बटुल्न सफल रह्यो । स्पर्सले न्युक्यासलको घरेलु मैदानमा पछिल्लो पाँचमध्ये चार खेलमा जीत हासिल गरेको छ । शनिबार भएको अन्य खेलमा कार्डिफ सिटीले एएफसी बोर्नेमाउथलाई २–० गोलअन्तरले पराजित गर्यो ।

त्यस्तै, क्रिस्टल प्यालेसले फुलहाम र वाटफोर्डले ब्राइटन एण्ड होभ आल्बियनलाई समान २–० गोलअन्तरले हरायो । वोल्भरह्याम्पटन वान्डरसर्स र एभर्टनले २–२ को बराबरी खेले ।

प्रतिक्रिया दिनुहोस