कैलाली । वर्षासँगै कैलालीको गोदावरी नदीमा आएको बाढीका कारण गोदावरीधाम परिसरमा रहेका मठमन्दिरमा क्षति पुगेको छ ।नदीमा आएको बाढीका कारण धाम परिसरमा श्राद्ध गर्न बनाइएको कुण्ड, पिण्डस्थलका साथै श्रीयन्त, विष्णु मन्दिर, शिवमन्दिर, बटुक बस्ने घरलगायत संरचनामा क्षति पुगेको हो ।
धेरै संरचना बाढीले बगाएर ल्याएको काठ, ढुंगा र बालुवाले पुरिएका छन् ।बाढीका कारण धाम परिसरमा जडान गरिएको सोलार बत्तीका साथै नदीको कतिपय भागको तटबन्धनमा पनि क्षति पुगेको छ । धाम विकास समितिका पदमराज जोशीले नदीमा आएको बाढीले धाम परिसरमा क्षति पुगेको बताए ।
धाममा बस्दै आएका बटुक खगेन्द्र बिनाडीले हिजो बेलुका आरती गर्ने समयमा नदीमा अचानक बाढी आउँदा क्षति पुगेको बताए ।बाढीपछि जोखिममा परेका बटुक र सन्तमहन्तलाई नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीय युवाको संयुक्त पहलमा उद्धार गरिएको थियो ।
बाढीले धाम आसपासमा रहेका पशुचौपाया बगाएको जनाइएको छ।गोदावरी नदीमाथि धातु र काठ प्रयोग गरी झन्डै ६ दशकअघि बनाइएको पुलछेउमा बाढीले कटान गरेको छ । यो पुल जीर्ण बन्दै गएपछि केही वर्षअघि सोही ठाउँमा पक्की पुल निर्माण गरिएको थियो ।
सडकमार्गबाट सुदूरपश्चिम प्रदेशका पहाडी जिल्ला प्रवेश गर्ने मुख्यद्वार र प्रदेशको प्रमुख तीर्थस्थलका रूपमा रहेको यो धामक्षेत्र पर्यटकीय दृष्टिले महत्त्वपूर्ण मानिन्छ । यहाँ प्रत्येक वर्ष माघ १ गते लाग्ने मकर संक्रान्ति मेलामा नेपाल तथा भारतका भक्तजन स्नान र पूजा गर्न आउने गर्छन् ।
यसैबीच, वर्षासँगै धनगढी–डडेलधुरा (भीमदत्त) राजमार्गअन्तर्गतको बुढीतोला सडकखण्ड ठाउँ–ठाउँमा भासिँदा यातायात आवागमन अवरुद्ध भएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २३ साउन २०८०, ११ : ३१
लेखकबाट थप