काठमाडौँ । आईएमई लाइफ इन्स्योरेन्सको सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । १८ साउन बिहीबार नेप्से र आईएमई लाइफ इन्स्योरेन्स बीच सेयर सूचीकृत सम्झौता भएको हो ।
कम्पनीको सेयर नेप्सेमा सूचीकृत भएसँगै आइतबारदेखि दोस्रो बजारमा कम्पनीको सेयर कारोबार सुरु हुने भएको छ । नेप्सेले कम्पनीका सेयरलाई पहिलो कारोबारका लागि १७६ रुपैयाँ ५३ पैसादेखि ५२९ रुपैयाँ ५९ पैसासम्म ओपनिङ रेञ्ज तोकेको छ ।
पछिल्लो आर्थिक वर्षको लेखापरीक्षण भएको वित्तीय विवरणको नेवटर्थदेखि नेटवर्थको ३ गुणासम्म नेप्सेले ओपनिङ रेञ्ज तोक्ने गर्छ । नेप्सेको स्पेसल प्री(ओपन सेसनमा कम्पनीको सेयर उक्त रेञ्जको जुनसुकै मूल्यबाट कारोबार सुरु हुनसक्छ ।
स्पेसल प्री-ओपन सेसनमा कारोबार नभएमा दोस्रो बजारमा कारोबार सुरु गर्न पुनः अर्को कारोबार दिन पर्खनुपर्छ ।कम्पनीको प्रतिकित्ता १०० रुपैयाँ अङ्कित मूल्यमा १३६ रुपैयाँ प्रिमियम सहित २३६ रुपैयाँमा प्रतिकित्तामा आइपिओ निष्कासन गरेको थियो । कम्पनीको कुल ४ अर्ब रुपैयाँ बराबरको १०० रुपैयाँ अङ्कित मूल्यका ४ करोड कित्ता सेयर नेप्सेमा सूचीकृत भएको छ । जसमध्ये १ करोड २० लाख कित्ता साधारण सेयर र २ करोड ८० लाख कित्ता संस्थापक सेयर रहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १८ साउन २०८०, १५ : १६
लेखकबाट थप