बाढीले क्षति पुर्‍याएपछि मेची राजमार्ग पुनः अवरुद्ध

सफल खबर संवाददाता

बुधबार, १३ असार २०८०, ०९ : ३३
बाढीले क्षति पुर्‍याएपछि मेची राजमार्ग पुनः अवरुद्ध

काठमाडौ । मेची राजमार्गअन्तर्गत पाँचथरको हेवाखोलामा पुनः यातायात अवरुद्ध बनेको छ ।

यातायात नियमित गर्न मंगलवारबाट सञ्चालनमा ल्याइएको डाइभर्सनमा मंगलवार राति आएको बाढीले क्षति पुर्‍याएपछि यातायात पुनः अवरुद्ध बनेको हो । 

हेवाखोलामा बाढी आई डाइभर्सनभन्दा माथिबाट खोला बग्न थालेको हो । बाढीले डाइभर्सनमा क्षति पर्‍ुयाएपछि यातायात सञ्चालन पूर्ण रूपले अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक हरि खतिवडाले जानकारी दिए । 

यातायात अवरुद्ध भएकाले मेची राजमार्गको फिदिम–ताप्लेजुङ खण्डमा सवारी सञ्चालन नगर्न प्रहरीले सबैलाई सचेत गराएको छ । 

असार २ गते राति आएको बाढीले मेची राजमार्गअन्तर्गत पाँचथरको हेवाखोलास्थित सडक पुल बगाएपछि राजमार्ग अवरुद्ध भएको थियो । यातायात अवरुद्ध भएपछि ४ दिनको प्रयासमा डाइभर्सन निर्माण गरी मंगलवारदेखि पुनः सञ्चालनमा ल्याइएको थियो । पानीको बहाव घटेपछि मंगलवार राति १० बजेसम्म राजमार्ग सञ्चालन भएको थियो ।

प्रहरीले जोखिमलाई ध्यानमा राख्दै मंगलवार रातिदेखि डाइभर्सनबाट सवारीसाधन सञ्चालनमा रोक लगाएको छ । 

प्रतिक्रिया दिनुहोस