नवनिर्वाचित सांसद सिलवालविरुद्ध प्रहरीले थाल्यो अनुसन्धान

बुधबार, ०५ पुस २०७४, १९ : ०४
नवनिर्वाचित सांसद सिलवालविरुद्ध प्रहरीले थाल्यो अनुसन्धान

महानगरीय  प्रहरी परिसर काठमाडौंले सरकारी कागजात कीर्ते गरेको अभियोगमा पूर्व डीआईजी नवराज सिलवालविरुद्ध काठमाडौं प्रहरी परिसरमा जाहेरी दर्ता गरेको छ ।
सरकारले जयबहादुर चन्दलाई प्रहरी प्रमुख बनाएपछि तत्कालीन डीआईजी सिलवाल आफूलाई आईजीपी बनाउन माग गर्दै सर्वोच्च अदालतमा गएका थिए ।

तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वको पूर्ण इजलासले चन्दको नियुक्ति बदर गर्नुका साथै कार्यसम्पाद मूल्यांकनमा धेरै अंक ल्याउनेलाई प्रहरी प्रमुख बनाउन आदेश दियो । सरकारले प्रकाश अर्याललाई प्रहरी प्रमुख बनायो ।
तर, उनले रिट निवेदनमा  संलग्न गरेको कार्यसम्पादन मूल्यांकन कीर्ते भएको ठहर भएको थियो ।

यसअघि सर्वोच्च अदालतले अनुसन्धान प्रक्रिया अघि बढाउन आदेश दिएको थियो ।
“भोली अनुसन्धानको क्रममा अरु पनि कोही दोषी देखिन सक्छन्,” प्रहरी स्रोतले भन्यो, “अहिले कीर्ते गरेको अभियोगमा नवराज सिलवालविरुद्ध जाहेरी दर्ता गरिएको छ ।”
सिलवाल नेकपा एमालेका नवनिर्वाचित सांसद पनि हुन् । उनी ललितपुर १ बाट हालै प्रतिनिधिसभा निर्वाचनमा निर्वाचित भएका छन् ।

प्रतिक्रिया दिनुहोस