चितवन । चितवन राष्ट्रिय निकुञ्जमा आज बुधबारबाट बाघ गणना शुरु भएको छ । चितवन राष्ट्रिय निकुञ्ज र पर्सा राष्ट्रिय निकुञ्जलाई तीन भागमा विभाजन गरेर मंसिर १४ गते पर्सा क्षेत्रबाट बाघ गणना शुरु गरिएको थियो । पहिलो खण्डमा चितवन राष्ट्रिय निकुञ्जको ठोरीको अमुवा भागबाहेक सबै पर्सा राष्ट्रिय निकुञ्जमा गणना गरिएको थियो ।
बाघ गणनाका क्रममा पहिलो भाग पर्सा राष्ट्रिय निकुञ्ज, दोस्रो भाग पर्सा र चितवनको सीमा क्षेत्र हप्ताखोलादेखि टाइगर टप्ससम्म र तेस्रो खण्ड टाइगर टप्स पश्चिम भागमा विभाजन गरिएको छ । चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालले नेपालको सबैभन्दा बढी बाघ भएको क्षेत्रको गणना आजबाट थालिएको बताए ।
उनका अनुसारऽ एउटा ब्लकमा करिब एक हजार दुई सय क्यामरा राखेर बाघ गणना गरिँदै आएको छ । आजबाट थालिएको क्षेत्रमा निकुञ्जसँगै राष्ट्रिय वन र मध्यवर्ती क्षेत्र पनि रहेको छ । दुई वर्ग किलोमिटरमा एक ठाउँमा क्यामरा राखेर गणना गरिएको छ । १५ दिनसम्म एकै ठाउँमा क्यामरा राखिने छ। एउटा ब्लकलाई १४ भागमा विभाजन गरेर क्यामरा राखिएको छ ।
क्यामरामा कैद गरिएका फोटो हेरेर बाघको सङ्ख्या यकिन गर्ने गरिन्छ । बाघको शरीरमा पहेँलोमा हुने कालो धर्कालाई पाटा भनिन्छ । प्रत्येक बाघको पाटा फरक फरक हुने गर्दछ । बाघको छालाको पाटा मान्छेको औँला छापजस्तो एकअर्कासँग मिल्दैन । त्यसैले फोटोमा छालाको पाटा हेरेर सङ्ख्या अनुमान गरिन्छ ।
नेपालमा सन् २०१३ मा बाघको गणना भएको थियो । त्यो बेला देशभर बाघको सङ्ख्या १ सय ९८ पुगेकामा चितवन निकुञ्जमा मात्र सबैभन्दा धेरै १ सय २० बाघ थिए । सन् २०१३ मा पर्सामा नौ, बर्दियामा ५०, शुक्लाफाँटामा १५ र बाँकेमा चार वटा बाघ फेला परेका थिए ।
बाघ गणनामा निकुञ्जका १० हात्ती, ६० भन्दा बढी जनशक्ति गणनामा परिचालन गरिएको छ । गणना कार्यमा निकुञ्ज विभाग, ताल परियोजना, राष्ट्रिय प्रकृतिक संरक्षण कोष, विश्व वन्यजन्तु कोष, जेडएसएल लगायतका संस्थाले सहयोग गरेका छन् । पाटे बाघ नेपालसहित संसारका १४ देशमा पाइन्छ ।
नेपाल, भारत, चीन, बंगलादेश, भुटान, बर्मा कम्बोडिया, इन्डोनेसिया, लाओस, मलेसिया, उत्तर कोरिया, रुस, थाइल्याण्ड र भियतनाममा हाल लगभग तीन हजार ९ सय बाघ रहेको तथ्यांक छ । पछिल्लो समय चोरीशिकारमा भएको कमी, आहारा प्रजातिका वन्यजन्तुको सङ्ख्यामा भएको वृद्धि, बासस्थानमा व्यवस्थापनमा भएको सुधारका कारण बाघको सङ्ख्या बढ्दै गएको अनुमान गरिएको छ ।
बाघ गणनासँगै बाघका आहारा प्रजातिका जनावरको पनि अवस्था अध्ययन भइरहेको छ । निकुञ्जका अनुसार एक वर्ग किलोमिटरमा कति आहारा प्रजातिका जनावर छन् भन्ने विषयमा पनि अध्ययन भइरहेको छ । आहारा प्रजाति भन्नाले चित्तल, लघुना, जरायो, गौरीगाई, बँदेल, रतुवा लगायतका पर्दछन् ।
प्रतिक्रिया दिनुहोस