चितवन । बुधबार वीरगन्जस्थित सुपर ग्यास उद्योगमा लागेको आगो ४८ वर्षको इतिहासमा पहिलो रहेको ग्यास उद्योग संघले जनाएको छ । घटनाको छानबिन गर्न संघले संघका निवर्तमान अध्यक्ष शिवप्रसाद घिमिरेको संयोजकत्वमा पाँच सदस्यीय समितिसमेत गठन गरेको छ ।
समितिले पाँच दिनभित्र घटनाको सत्यतथ्य प्रतिवेदन प्रस्तुत गर्ने संघको भनाइ छ । समितिका सदस्यमा कुशप्रसाद मल्ली, विजयहरी शर्मा, मनोज कुमार दास र राज कुमार सिन्धी रहेका छन् ।
संघका अध्यक्ष गोकुल भण्डारीले ४८ वर्षको इतिहासमा पहिलो पटक ग्यास उद्योगमा आगलागी भएको बताए । उनका अनुसार बुलेटबाट ग्यास अनलोड गर्ने क्रममा स्पार्क (आगोको झिल्का) निस्किएर आगलागी भएको प्रारम्भिक जानकारी आएको छ । “आगलागी हुँदैगर्दा उद्योगमा चारवटा ग्यास बुलेट थिए । ती बुलेट र स्टोरेज ट्यांक सुरक्षित छन्,” उनले भने ।
संघले नेपालमा चल्ने अधिकांश ग्यास ट्यांकर पुराना भएकाले आगलागी भएको दाबी गरेको छ । संघका अनुसार नेपालको आफ्नै ट्यांकर छैन । नेपालमा चल्ने सबै भारतीय ट्यांकर हुन् र ती बिसौं वर्ष पुराना छन् । भारतीय मापदण्डअनुसार त्यहाँ चलाउन नपाइने भएकाले ती ट्यांकर नेपालमा चलाइएका हुन् ।
आगलागीमा २ जनाको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ । उद्योगभित्र कति कामदार थिए भन्ने यकिन हुन सकेको छैन । आगो बिहान ६ बजेदेखि लागेको हा । ९ घण्टापछि आगलागी नियन्त्रणमा अाएकाे छ ।
प्रतिक्रिया दिनुहोस