गौर हत्यासम्बन्धी रिटमा आजपनि भएन सुनुवाई

सफल खबर संवाददाता

सोमबार, २९ जेठ २०८०, १५ : ०२
गौर हत्यासम्बन्धी रिटमा आजपनि भएन सुनुवाई

काठमाडौं । गौर नरसंहारविरुद्धको रिटमा आज पनि सुनुवाई हुन सकेन । आज (सोमबार) सर्वोच्च अदालतका न्यायधीश कुमार रेग्मीको इजलासमा सुनुवाईका लागि पेशी तोकिएको उक्त रिट ‘बेञ्च बस्न नभ्याएको’ भन्दै स्थगित भएको हो ।

गत जेठ २१ गते त्रिभुवन साहले जिल्ला प्रहरी कार्यालय रौतहट गौर तथा जिल्ला सरकारी वकिलको कार्यालय गौर रौतहटलाई विपक्षी बनाइ मुद्दा दायर गरेका थिए । २०६४ चैत २७ गते तत्कालीन मधेसी जनाधिकार फोरम र नेकपा माओवादी केन्द्रका कार्यकर्ताबीचको झडपमा २७ जना माओवादी कार्यकर्ताको मृत्यु भएको थियो ।

के हो गौर नरसंहार ?

१७ हजार मारिने गरी भएको माओवादी सशस्त्र गतिविधिपछि देशले शान्तिको स्वास फेर्दै थियो । मधेशमा केही सशस्त्र समूहले हिंसा मच्चाइरहेका थिए । तर, एकैपटक ठूलो संख्यामा हत्याका घटना मधेशका सशस्त्र समूहबाट भएन । मधेशको अधिकारको लागि भन्दै उठेको तत्कालीन मधेशी जनअधिकार फोरमका कार्यकर्ताबाट भने एकैपटक २७ जनाको विभत्स हत्या भयो ।

७ चैत्र २०६३ मा रौतहटको राइस मिल मैदानमा २७ जनाको केही घन्टामै कत्लेआम भएको थियो । यो कुनै घोषित सशस्त्र समूहबाट भएको थिएन । मधेशको अधिकारको लागि भन्दै जन्मिएको मधेशी जनअधिकार फोरमका कार्यकर्ताबाट भएको थियो । जुन राष्ट्रिय मानवअधिकार आयोगको रिपोर्टमा स्पष्ट उल्लेख छ ।

त्यो दिन विहानै देखि गौरको राइसमिलमा तनाव बढिरहेको थियो । तत्कालीन नेकपा माओवादी र तत्कालीन मधेशी जनअधिकार फोरमले राइस मिलमा एकै दिन एकै समयमा कार्यक्रमको तयारी गरे । दुवै टसमस भएनन् । दुवैले कार्यक्रमको मिति र समय सारेनन् ।

माओवादीले राइस मिलको मैदानमा मञ्च निर्माण गर्यो । मैदानको एक छेउमा फोरमले अर्को मञ्च निर्माण गर्यो । सुरुमा मञ्च एकै ठाउँमा बनाउन लागेका थिए । तर, पहिले फोरमले गर्ने त्यसपछि माओवादीले गर्ने समझदारीमा केही मिटर दुरीमा मञ्च निर्माण गरेका थिए ।

मञ्च निर्माणको केही बेरमै फोरमका कार्यकर्ताले माओवादीको मञ्च भत्काइदिए । जवाफमा माओवादी कार्यकर्ताले पनि फोरमको मञ्च भत्काए । घटना योजनावद्ध नै थियो ।

फोरमका सशस्त्र जत्था लुकेर बसेका थिए । मञ्च भत्काएपछि उनीहरु निस्किएर माओवादी कार्यकर्तामाथि आक्रमण गर्न थाले । राइसमिलमा रगत बग्यो । माओवादीका वाइसिएल कार्यकर्ताको भागदौड मच्चियो । रौतहट बाहिरबाट लगिएका कार्यकर्ता पनि थिए । उनीहरुमध्ये महिलाको विभत्स हत्या भएको थियो । सयौं घाइते भए ।

घाइते प्रतिमा खातुत, रेखा परियार, उषा थापा र सरस्वती उप्रेतीलाई भालाले रोपेर जिउँदै आगो लगाएर हत्या गरेका थिए । महिलाको स्तनसमेत काटेका थिए । जीवनका लागि हारगुहार गर्दा पनि विभत्स तरिकाले हत्या गरेका थिए । गौरदेखि पूर्वतर्फको बौधीमाई मन्दिरनजिक बाँसको फराठाले हानेर उनीहरुको हत्या गरिएको उल्लेख छ । माओवादीले बलात्कारपछि हत्या भएको भन्दै आएको छ ।

राइस मिलबाट पाँच किलोमिटर टाढा अर्को हत्या भएको थियो । भागिरहेका माओवादी कार्यकर्ताहरुलाई बागमदी नदीबाट कब्जामा लिई हजमनिया बोधिमाई मन्दिरमा हत्या गरे । माओवादीको बली दिने भनी ११ जनाको विभत्स हत्या भएको थियो ।

गौर बजारमा रहेको गेष्ट हाउमा लुकेर बसेका माओवादी कार्यकर्तालाई घरबाहिर थुती गोली हानी कुटीकुटी मारेका थिए । मारिनेमा रौतहटकै दिपक पाण्डे, रेखा परियार पनि थिए । घटनामा रौतहटका ९, मकवानपुरका ८, बाराका ४, बाजुरा, सिन्धुली, पर्सा र दाङका एक एक गरी २७ जना मारिएका थिए ।

प्रतिक्रिया दिनुहोस