वीरगञ्ज सुपर ग्यास उद्योगमा भीषण आगलागी सबै बुलेट जले, दुईको मृत्यु, कम्तिमा ३ घाइते

बुधबार, ०५ पुस २०७४, १० : ४०
वीरगञ्ज सुपर ग्यास उद्योगमा भीषण आगलागी सबै बुलेट जले, दुईको मृत्यु, कम्तिमा ३ घाइते

वीरगञ्जको सुपर ग्यास उद्योगको प्लान्टमा भीषण आगलागीमा परी २ जनाको मृत्यु भएको छ। वीरगञ्ज १८ भवानीपुरमा रहेको उद्योगमा बिहान ६ बजे आगलागी हुँदा दुई जनाको मृत्यु भएको हो ।

ग्यास भण्डारण ट्याङकीबाट ग्यास लिक भइ आगलागी सुरु भएको हो। आगलागी नियन्त्रणका लागि घटनास्थलमा पुगेको अग्नीनियन्त्रक दमकलसमेत जलेको छ । बरुणयन्त्र जल्नुको साथै आगो नियन्त्रण बाहिर गएपछि घटनास्थलबाट सर्वसाधारणलाई ४ किलोमिटरको दुरी राखिएको छ ।

मृतक कामदार वा अग्नि नियन्त्रक को हुन् भन्ने पुष्टि अझै भएको छैन। घाइते कामदार अम्मिका पटेल र सुरक्षा गार्ड सन्दिप नेपालको वीरगञ्ज हेल्थ केयर अस्पतालमा उपचार भइरहेको छ ।

विश्वकर्मा सिमेन्ट उद्योग नजिकै रहेको प्लान्टभित्र रहेका सबै ग्यास बुलेट जलेर नष्ट भएका छन् । ग्यास बुलेटबाट प्लान्टमा सार्ने क्रममा लिक भइ आगलागी भएको सशस्त्र प्रहरी बलका प्रहरी उपरीक्षक शान्तिकुमार कार्की बताए ।

उद्योगको प्लान्ट बस्तीबाट एक किलोमिटर टाढा भए पनि भीषण आगलागी भएका कारण स्थानीय त्रसित बनेका छन् । स्थानीय बस्ती नै छाडेर सुरक्षित स्थानमा पुगेका छन् । प्रहरीले स्थानीयलाई आगलागीको ५ सय मिटर पर नै रोकेको छ ।

ग्यास बुलेट पड्किएको आवाज परसम्म सुनिएको छ। प्लान्ट जलेर निस्किएको धुँवाले आसपासको क्षेत्र समेत ढाकेको छ ।

सात वर्ष पहिले सुरु भएको उद्योग अवुलेश अन्सारीको हो। अवुलेश वीरगञ्ज हेल्थ केयर हस्पिटलका सञ्चालक पनि हुन् ।

प्रतिक्रिया दिनुहोस