काठमाडौँ । नेपाली कांग्रेसले नेपाल विद्यार्थी सङ्घ र नेपाल तरुण दललाई आज पूर्णता दिने तयारी गरेको छ । आज बेलुकासम्म नेविसंघ र तरुण दलको तदर्थ समितिलाई पूर्णता दिने कांग्रेस पदाधिकारीहरुबीच आन्तरिक तयारी भइरहेको छ ।
नेविसंघ र तरुण दललाई पूर्णता दिन बिहीबार सभापति शेरबहादुर देउवाको निवासमा कांग्रेस पदाधिकारीबीच छलफल भएको थियो । सहमहामन्त्री महेन्द्र यादवले आज साँझसम्म नेविसंघ र तरुण दलसहित भ्रातृ संस्थाहरुलाई पूर्णता दिइने बताए । उनका अनुसार बिहीबारको बैठकले नाम सङ्कलन भइसकेका भ्रातृ संस्थाहरूको पूर्णता दिँदै जाने निर्णय गरेको छ ।
उनले भने, ‘आज अपराह्न चार बजे पदाधिकारी बैठक बसेर भ्रातृ संस्थालाई पूर्णता दिने काम हुन्छ । मुख्यतः नेविसंघ र तरुण दलमा नाम सङ्कलनको भएको छ । यसलाई पूर्णता दिएर अगाडि जान्छौँ ।’
गत फागुन ३ गते केन्द्रीय कार्यसम्पादन समितिले १० वटा भ्रातृ संस्थाको कार्यसमिति भङ्ग गरेको थियो ।बैठकले फागुन मसान्तभित्र केन्द्रीय तदर्थ समिति गठन गर्ने अधिकार सभापति देउवालाई दिएको थियो ।
सभापति देउवाद्वारा गत वर्ष फागुन ९ मा नेविसंघ, तरुण दल, असार १० मा नेपाल किसान सङ्घ, नेपाल आदिवासी जनजाति सङ्घ र साउन २६ मा नेपाल महिला सङ्घमा सभापति मनोनीत गरेका थिए । बाँकी भ्रातृ संस्थामा नेतृत्वसमेत आएको छैन ।
तदर्थ समितिलाई तीन तहको निर्वाचनको अन्तिम परिणाम आएको तीन महिनाभित्र अधिवेशन गर्नुपर्ने म्यान्डेट दिइएको थियो । गत मङ्सिरमा आम निर्वाचन सम्पन्न भएकाले तदर्थ समितिले फागुनसम्म महाधिवेशन गरिसक्नुपर्ने थियो । तर, नेतृत्व पाएका भ्रातृ संस्थाले पूर्णतासम्म नपाएपछि महाधिवेशन अन्योल बन्यो ।
यता नेपाल प्रजातन्त्र सेनानी सङ्घ, नेपाल लोकतान्त्रिक अपाङ्ग सङ्घ, नेपाल तामाङ सङ्घ, नेपाल ठाकुर समाज, नेपाल थारु सङ्घ र नेपाल लोकतान्त्रिक खेलकुद सङ्घ र नेपाल भूतपूर्व सैनिक सङ्घमा एक वर्षदेखि नेतृत्वसमेत छैन ।
सभापति देउवाले यी भ्रातृ संस्थाको नेतृत्व पनि आजै ल्याउने सम्भावना रहेको सहमहामन्त्री यादवले बताए । यादवका अनुसार नाम सङ्कलन भएपछि क्रमिक रूपमा बाँकी भ्रातृ समिति गठन र विस्तार हुने छ ।
यस्तै कांग्रेसका सभापति देउवाले पार्टीका केन्द्रीय विभाग गठनका लागि गृहकार्य थालेको उनले बताए । कांग्रेसमा विधानतः २८ वटा विभागको व्यवस्था छ । ती विभागमा ५१ जना सदस्य राख्न सकिने प्रावधान छ ।
संयोजक, उपसंयोजक, सचिवसमेत गर्दा एउटै विभागमा ५४ जना नेता तथा कार्यकर्ताले जिम्मेवारी पाउने अवस्था छ । सबै विभागलाई पूर्णता दिँदा १५ सय १२ जना नेता कार्यकर्ताले जिम्मेवारी पाउने देखिन्छ । विभागको कार्यक्षेत्र हेरी विशेषज्ञ संलग्न गराई विभिन्न एकाइ, उपसमिति वा कार्यदल गठन गर्न सकिने विधानमा व्यवस्था छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २२ बैशाख २०८०, १२ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आन्दोलनरत शिक्षकलाई विद्यालय फर्काउने वातावरण बनाउन महामन्त्रीद्वयलाई देउवाको निर्देशन
ओली नेतृत्वको सरकारले गति बढाउनुपर्ने काँग्रेसको निष्कर्ष
कांग्रेसको महिला संघमा भाँडभैलौ, २० जनाले दिए राजीनामा
अधिवेशन गर्न नसकेका भ्रातृ संस्थाहरू भंग गर्ने काँग्रेसको तयारी
कुनै पनि दलको बहुमत आउन गाह्रो छ : देउवा
उत्तरप्रदेशका मुख्यमन्त्री दूतावास गएका होइनन् : देउवा