नेपाल आउने बिजुलीको मूल्य बढाउने भारतको अनौपचारिक प्रस्ताव

मंगलबार, ०४ पुस २०७४, १६ : ४३
नेपाल आउने बिजुलीको मूल्य बढाउने भारतको अनौपचारिक प्रस्ताव

चितवन ।  यही पुष ५ र ६ गते बस्न लागेको भारत तथा नेपालको उर्जा सचिव स्तरीय बैंठक स्थगित भएको छ । यो बैठकबाट भारतले नेपालमा पठाउँदै गरेको बिजुलीको मूल्य बढाउन खोजेको छ । यससम्बन्धी अनौपचारिक जानकारी भारतले ऊर्जा मन्त्रालयका अधिकारीलाई दिइसकेको छ ।

चुनाव सम्पन्न भइसकेपछि नयाँ सरकार गठन नभइसकेका कारण यो बैठकलाई अहिले स्थगित गरिएको छ । नयाँ सरकार नबनेसम्म बिजुलीको मूल्य बढाउने वा नबढाउने भन्ने निर्णय उचित नहुने भन्दै अहिलेलाई बैठक नै स्थगित गरिएको ऊर्जा मन्त्रालय स्रोतले जानकारी दिए । ऊर्जा मन्त्रालयले अहिलेलाई बैठक स्थगित गर्न आग्रह गरेपछि भारत पनि त्यसमा सहमति जनाएको छ ।

उर्जा मन्त्रालयका एक अधिकारीका अनुसार भारतले अहिलेको दरमा बिजुली दिन नसक्ने बताउँदै आएको छ । उर्जा मन्त्रालयले भने अबको दुई महिनासम्म पुरानै सम्झौता अनुसार बिजुली उपलब्ध गराउन आग्रह गरेको छ । नेपालमा भारतले पठाउँदै आएको बिजुलीमा घाटा भएको भारतीय पक्षले दावी गर्दै आएको छ ।

ऊर्जा सचिव स्तरीय बैठक वर्षमा एकपटक बस्दै आएको छ भने सहसचिव स्तरीय बैठक वर्षमा दुई पटकसम्म बस्ने गर्छ । तत्कालै बिजुलीको मूल्य बढाउँदा आलोचित हुने डरले मन्त्रालयले अहिले बैठक नै स्थगित गरेको हो ।

त्यस्तै बुटवल गोरखपुर ४ सय केभीको प्रसारण लाइन निर्माणको जिम्मा पनि निजी कम्पनीलाई दिने भारतीय पक्षको भनाइ छ । यसलाई कमर्सियल रुपमा निर्माण गनुपर्ने भारतले अडान राख्दै आएको छ ।

नेपालको उर्जा मन्त्रालयले भने यो दुई देशबीचका सरकार मिलेर निर्माण गर्नुपर्ने माग राख्दै आएको छ ।

तत्काल कुनैपनि निर्णय गर्दा आलोचित हुनुपर्ला भनेर मन्त्रालय पछि हटेको छ । सचिव स्तरीय बैठक स्थगित गरेपनि यस विषयमा आवश्यक छलफल गर्नका लागि एक प्राविधिक टोली भने आजै भारत प्रस्थान गरेको छ ।

भारतको सर्वोच्च अदालतले पेटकोक प्रयोग गरि बिजुली बन्द गर्न रोक लगाएको छ । यसबाट प्रदुषण बढ्ने भन्दै भारतले पेटकोकबाट बिजुली उपादन तथा कलकारखाना चलाउन रोक लगाएको हो ।

श्री सिमेन्टले पेटकोक प्रयोग गरी बिजुली उत्पादन गर्दै आएको ३० मेगावाट टनकपुर विन्दुबाट नेपाल आउने गरेको थियो । जुन अहिले बन्द छ । यसरी बिजुली उत्पादन गर्न नपाएपछि भारतको बिजुलीको उत्पादन लागत बढ्दै गएको छ । त्यसैका आधारमा उसले बिजुलीको मूलय बढाउने अनौपचारिक प्रस्ताव गरेको छ ।

प्रतिक्रिया दिनुहोस