ओलीले अचानक गरे केरुङ नाकाको निरीक्षण

मंगलबार, ०४ पुस २०७४, १५ : २०
ओलीले अचानक गरे केरुङ नाकाको निरीक्षण

एमाले अध्यक्ष केपी शर्मा ओलीले मंगलबार रसुवागढी–केरुङ सीमा नाकाको अवलोकन गरेका छन् । मंगलबार रसुवा आएका उनले नेपाल–चीन सीमास्थित टिमुरेमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सो क्षेत्रबाटै रेलमार्ग निर्माण गर्ने बताए ।

गल्छीदेखि स्याफ्रुबेँसी हुँदै रसुवागढीसम्म दुई लेनको मोटरबाटो सञ्चालनमा ल्याउने उनको भनाइ थियो । सो बाटो ट्रयाक खोल्ने काम अहिले नेपाली सेनाले गरिरहेको छ । ‘हामीले काठमाडौं, पोखरा र लुम्बिनीसम्म पुर्‍याउनेगरी रेलमार्ग निर्माण गर्ने भनेको ठाउँ पनि यही हो’, अध्यक्ष ओलीले भने, ‘यो नाका अब सबै हिसाबले अन्तर्राष्ट्रिय स्तरको बनाइनेछ।’ मानसरोवर जाने तीर्थ यात्रुलाई समेत यो नाका सहज हुने उनको भनाइ थियो।

दुई वर्षअघि नेपाल–चीन ऐतिहासिक पारवहन सन्धी र रेल्वे सम्झौता गरी आफ्नो पहिलो प्रधानमन्त्रीत्व कालमा लोकप्रियता कमाएका ओलीले केरुङ–काठमाडौं–पोखरा–लुम्बिनी रेल्वेलाई आफ्नो पहिलो प्राथमिकतामा राखेका थिए ।

प्रधानमन्त्री बन्नुअघि उत्तरी नाका केरुङ नाका निरीक्षण गर्न ओली अचानक पुग्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । ओलीको प्रधानमन्त्रीत्व कालमै नेपाल भ्रमणको तयारीमा रहेर पछि सरकार परिवर्तनका कारण भ्रमण स्थगित गरेका चिनियाँ राष्ट्रपति सी जिनपिङ आगामी मार्च महिनामा नेपाल भ्रमणमा आउने खवर आउनु र ओलीको केरुङ नाका निरीक्षणलाई जोडेर हेर्न थालिएको छ ।

ओलीको भ्रमण दलमा महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णु पौडेल, स्थायी समिति सदस्य सुवास नेम्वाङ र शंकर पोखरेल सहभागी छन् । जिल्लाका एमाले नेताहरु पूर्व सांसद जनार्दन ढकाल, पार्टी अध्यक्ष कर्नेल लामा पनि ओलीको टोलीमा छन् । चार वटा हेलिकोप्टरमा आएको अध्यक्ष ओलीको टोलीले बिहान भूकम्पले क्षति पुर्यामएको लाङटाङ उपत्यकाको अवलोकन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस