गरिव जनताको स्वास्थ्य उपचारमा सहज पहुँच पुर्‍याउन सरकार तयार छ : स्वास्थ्यमन्त्री यादव

सफल खबर संवाददाता

शुक्रबार, ०४ साउन २०७५, १९ : ११
गरिव जनताको स्वास्थ्य उपचारमा सहज पहुँच पुर्‍याउन सरकार तयार छ : स्वास्थ्यमन्त्री यादव

काठमाडौँ । उपप्रधानमन्त्री एवम् स्वास्थ्य मन्त्री उपेन्द्र यादवले गरिव जनताको स्वास्थ्य उपचारमा सहज पहुँच पुर्‍याउन जोड दिनुपर्ने बताउनु भएको छ । उपप्रधानमन्त्री यादवले गरिव जनताको उपचारका लागि स्थापना हुने स्वास्थ्य संस्थाहरुलाई सरकारले सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

शुक्रबार ललितपुरस्थित बी एण्ड बी अस्पतालकोे बी एण्ड बी कार्डियाक केयर सेन्टरको उद्घाटन गर्दै उहाँले उपचार गर्न नसकेर ज्यान जाने अवस्थामा रहेका जनताको उपचार सेवामा लाग्न निजी क्षेत्रका अस्पतालहरुलाई आग्रह गर्नुभयो ।

उपप्रधानमन्त्री यादवले विषाधि खानाको अत्याधिक सेवनका कारण नेपालमा क्यान्सरजस्ता प्राण घातक रोगको संक्रमण बढदै गएको उल्लेख गर्दै त्यसलाई न्यूनिकरण गर्दै लैजान सरकारले जनचेतनामूलक कार्यक्रम संचालन गर्दै आएको स्मरण गराउनुभयो ।

कार्यक्रममा बोल्दै वरिष्ठ चिकित्सक डा. सुन्दरमणि दीक्षितले चिकित्सकहरुलाई चिकित्सा पेशामै समर्पित हुन आह्वान गर्नुभयो । उहाँले वरिष्ठ चिकित्सक गोविन्द केसीप्रति संकेत गर्दै उपचार गर्न छोडेर चिकित्सकहरुले पदीय मर्यादाको दुरुपयोग गर्न नहुनेतर्फ सचेत गराउनुभयो । कार्यक्रममा बी एण्ड बी अस्पतालले मुटु रोगीलाई ध्यानमा राखेर अत्याधुनिक केयर सेन्टर स्थापना गर्नु परेको जानकारी दिएको छ ।

 

प्रतिक्रिया दिनुहोस