पौडेल–सिटौला समूहका केन्द्रीय सदस्यहरुको बैठकको निर्णय : देउवा अझै सच्चिएनन्

सफल खबर संवाददाता

सोमबार, ३२ असार २०७५, १७ : ०२
पौडेल–सिटौला समूहका केन्द्रीय सदस्यहरुको बैठकको निर्णय : देउवा अझै सच्चिएनन्

काठमाडौं ।  नेपाली काङ्ग्रेसभित्रका रामचन्द्र पौडेल समूह र कृष्णप्रसाद सिटौला समूहले पार्टी सभापति शेरबहादुर देउवा अझै नसच्चिएको निश्कर्ष निकालेको छ । सोमबार काठमाडौंमा पौडेल र सिटौला समूहका केन्द्रीय सदस्यहरुको भेलाले उक्त निश्कर्ष निकालेको हो ।

‘सभापति शेरबहादुर देउवा आफ्नै प्रतिबद्धता र पार्टीका विधानअनुरुप नचलेकाले उहाँलाई विधानअनुसार चल्न दवाव दिने निर्णय भएको छ’ भेलामा सहभागि एक पौडेलपक्षका केन्द्रीय सदस्यले भने ।

‘सहभागिहरुले विधान अनुसार चल्ने भनेर सभापतिले गरेको प्रतिवद्धता अझै पूरा नभएको, कार्यसम्पादन समिति भंग भएको दुई महिना भइसक्दा पनि पुनगर्ठनमा चासो नदेखाएको, प्रदेश निर्वाचन समिति अहिलेसम्म गठन नै नभएको लगायतका विषयमा धारणा राखेका छन् । तिनै विषयहरु साउन २ गते बस्ने बैठकमा कसरी उठाउने भन्नेमा छलफल भयो’ पौडेल पक्षीय केन्द्रीय सदस्य नविन्द्रराज जोसीले बताए ।

यस्तै महासमिति बैठक लगायतका विषयमा पनि छलफल भएको नेता जोशीले बताए ।  भेलामा वरिष्ठ नेता रामचन्द्र पौडेल, कृष्ण सिटौला, अर्जनरसिंह केसी लगातको उपस्थिति रहेको थियो ।
 

प्रतिक्रिया दिनुहोस