अबको लक्ष्य आर्थिक समृद्धिको हुनपर्छः अध्यक्ष राणा

सोमबार, ०३ पुस २०७४, १८ : ५४
अबको लक्ष्य आर्थिक समृद्धिको हुनपर्छः अध्यक्ष राणा

दाङ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाले अबको लक्ष्य आर्थिक समृद्धिको हुनुपर्ने बताएकी छन् ।  तुलसीपुर उद्योग वाणिज्य संघको २४औँ साधारणसभा तथा रजत जयन्ती कार्यक्रममा उनले भनिन्, “देशमा राजनीतिक उपलब्धि पूरा भइसकेको र स्थानीय तथा केन्द्रीय सरकार गठनसँगै मुलुक अब आर्थिक समृद्धितर्फ जान्छ ।”

अध्यक्ष राणाले अबको पाँच वर्ष स्थिर सरकार बन्ने र त्यो आफुहरुका  लागि खुशीको कुरा भएको समेत बताइन् । त्यससँगै अब उद्योग–कलकारखाना स्थापना र व्यवसायीले ढुक्कसँग व्यापार–व्यवसायी गर्नेमा समेत उनले ढुक्क रहन आग्रह गरिन्।

पटक पटक सरकार परिवर्तनले पनि देशमा विकास हुन नसकेको उल्लेख गर्दै उनले अब देशमा लगानी मैत्री वातावरण निर्माण गरी देशलाई आर्थिक समृद्धिको बाटोमा लैजान निजी क्षेत्र र सरकारले हातेमालो गर्नुपर्नेमा जोड दिइन् ।

अध्यक्ष राणाले निजी क्षेत्रले स्थानीय सरकारसँग मिलेर मुलुकको समृद्धिका लागि काम गर्ने बताउँदै मुलुकको समृद्धिका लागि अपार सम्भावना बोकेका पर्यटन, कृषि, जलविद्युत्जस्ता क्षेत्रमा निजी क्षेत्रले सहकार्य गर्ने धारणा व्यक्त गरिन् ।

प्रतिक्रिया दिनुहोस