चितवन । सिंहदरबारबाट चोरी भएको टोयटा हाइलक्स गाडीको टायर ललितपुरको एक सर्भिस सेन्टरमा भेटिएको छ । साथै, टायर चोरीमा सिंहदरबारस्थित सरकारी कार्यालयकै ड्राइभरको संलग्नता खुलेको प्रहरीले जनाएको छ ।
महानगरीय प्रहरी वृत्त सिंहदरबारका इन्स्पेक्टर भोजराज पाण्डेका अनुुसार स्थानीय विकास वित्तिय सुधार आयोगका सवारी चालक चन्द्रबहादुर मुक्तानले टायर चोरी गरेको पत्ता लागेको छ । उनि फरार भएकोेले खोजी भइरहेको छ ।
स्थानीय विकास मन्त्रालयको सस्पेन्सन ब्रिज शाखाको बा १ झ २९२७ नम्बरको टोयटा हाइलक्स गाडीको चारवटै टायर चोरी भएको थियो । गाडीका चालक श्रीकृष्ण श्रेष्ठले शुक्रबार सिंहदरबारभित्रै पार्किङ गरेका थिए । तर, आइतबार आउँदा गाडीका चार वटै टायर चोरी भएको पाइएको श्रेष्ठले बताए ।
प्रहरीका अनुसार रातको समयमा टायर खोलेको र विहान ७ बजे लगेको अनुसन्धानबाट खुलेको छ । चोरीमा प्रयोग भएको जग सर्भिस सेन्टरबाट लगेको खुलेको छ । प्रहरीले सर्भिस सेन्टरका जमलबहादुर मगरलाई पक्राउ गरेको छ । चोरी भएको प्रति टायरको मूल्य ५० देखि ६० हजारसम्म पर्छ ।
प्रतिक्रिया दिनुहोस