दस दिनपछि सौराहामा हात्ती महोत्सव, तयारी तीब्र

शनिबार, ०१ पुस २०७४, १३ : २३
दस दिनपछि सौराहामा हात्ती महोत्सव, तयारी तीब्र

चितवन । पर्यटकीय क्षेत्र सौराहामा पुसको ११ गतेदेखि चितवन हात्ती महोत्सवको १४ औँ संस्करण सुरु हुने भएको छ । महोत्सवबारे जानकारी दिन शनिबार सौराहामा आयोजित पत्रकार सम्मेलनमा हात्ती महोत्सव पुस ११ देखि १५ गतेसम्म हुने जानकारी दिइएको हो ।
यसवर्षदेखि महोत्सवमा हात्तीसँग सम्बन्धित प्रतियोगिता र प्रदर्शनीमात्र रहनेछन् । महोत्सवमा हात्तीको वनभोज र हात्ती स्नान प्रदर्शनी आकर्षणको रुपमा रहेका छन् । महोत्सव अवधिभर हात्ती तीब्र हिँडाई, छावाहरुको फुटबल, हात्ती पोलो, हात्तीको श्रृंगार र हात्ती रंगाउने प्रतियोगिता आयोजना हुनेछन् ।
महोत्सव सम्पन्न गर्नको लागि ८१ लाख रुपैयाँ खर्च अनुमान गरिएको महोत्सवका मूल संयोजक दिपक भट्टराईले जानकारी दिए । क्षेत्रीय होटल संघ चितवनको आयोजनामा हुन लागेको महोत्सवको संरक्षक रत्ननगर नगरपालिका रहेको छ । नेपाल पर्यटन बोर्ड प्रवद्र्धक रहेको महोत्सवको मुख्य प्रायोजकमा गोर्खा ब्रुअरी र सहप्रायोजकमा युनाइटेड वेभरेज रहेका छन् । मुख्य सहआयोजकमा युनाइटेड हात्ती संचालन सहकारी रहेको छ ।
महोत्सव आयोजनाको उद्देश्य पर्यटन प्रवद्र्धन एवं हात्तीको महत्वबारे जानकारी दिनु रहेको आयोजक संस्थाका अध्यक्ष सुमन घिमिरेले बताए । यो महोत्सव हात्तीका कृयाकलाप नजिकबाट नियाल्ने अवसर पनि भएको उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस