आँपटारका कृषक बाँदरबाट हैरान

रासस

मंगलबार, १२ असार २०७५, १३ : ०७
आँपटारका कृषक बाँदरबाट हैरान


उदयपुर । खेतबारीमा लगाएको मकैबाली फल लागेर खाने समय हुन लागेपछि जंगलबाट बाँदर पसेर नष्ट गर्न थालेका कारण यतिखेर उदयपुर जिल्लाको रौतामाई गाउँपालिका आँपटारका कृषक बाँदरदेखि आतंकित बन्न पुगेका छन् ।

आँपटारको कुर्लेटार, कालीमाटी, कदीमा गाउँ क्षेत्रमा लगाएको मकैबाली जंगलबाट ठूलो संख्यामा दैनिक बिहान, दिउँसो र बेलुकी बाँदर प्रवेश गरेर नष्ट गर्न लागेको कालीमाटीका कृषक भुपेन्द्रध्वज राईले बताउनुभयो ।

राईका अनुसार एक हप्तादेखि बाँदरले गाउँको मकै बालीमा ठूलो क्षति पु¥याएको र बाँदर खेतबारीदेखि घरघरसम्म नै आउन थालेको राईले बताउनुभयो । कुर्लेटार क्षेत्रमा पनि केही दिन यतादेखि बाँदरले खेतबारीमा लगाएको मकैबाली नष्ट गर्न थालेपछि घरघरका परिवार र नानीहरुसहित रातदिन खेतबारीमा नै मकैबाली रुँगेर समय बिताउनु परेको स्थानीय रत्नबहादुर कटुवाल बताउनुभयो ।

बाँदरले अतिनै दुःख दिने र मकैबाली नष्ट गर्न थालेपछि विद्यालय जाने नानीसमेत विद्यालय नगएर दिनभरि मकैबाली रुँग्न बाध्य हुनु परेको कटुवालले बताउनुभयो ।

एक हप्ताभित्र झण्डै ४० रोपनी क्षेत्रफलको मकैबाली बाँदरले नष्ट गरेको समेत कटुवालले बताउनुभयो ।  (रासस)

प्रतिक्रिया दिनुहोस