काठमाडौं । नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीको प्रमुख राजनीतिक सल्लाहकार भएका बेला अरु पार्टीको निकै बिरोधका बाबजुदपनि आफूहरुले बृद्धा भत्ता सुरुवात गरेको स्मरण गरेका छन् । काठमाडौंको धापासीमा बुधबार जेष्ठ नागरिकसँगको अन्तरक्रिया कार्यक्रममा पोखरेलले तत्कालीन समयमा विभिन्न दलका कयौँ विरोध र अवरोध सामना गर्दै नेकपा एमालेले बृद्ध–बृद्धालाई भत्ता दिन सुरुवात गरेको बताए ।
ज्येष्ठ नागरिकको हक हितका लागि आवाज उठाउने पहिलो पार्टी नेकपा एमाले भएको उनले बताए । २०५१ सालमा मनमोहन अधिकारी नेतृत्वको सरकारले ज्येष्ठ नागरिकलाई भत्ता दिन सुरू गर्दा विरोध भएको स्मरण गर्दै पोखरेलले भने, ‘अन्य दलका कयौँ विरोध र अवरोधलाई छल्दै ज्येष्ठ नागरिकलाई सम्मानपूर्वक बाँच्न सक्ने बनाउनु सरकारको दायित्व हो भनेर हामीले एक सय रूपैयाँ भत्ता दिन सुरू गरेका थियौँ ।’
उनले थपे, ‘तर, कांग्रेस लगायत पार्टीले यसरी भत्ता दिँदा राज्यको ढुकुटी रित्तिन्छ भन्दै घोर विरोध गरेका थिए । तर, ज्येष्ठ नागरिकको सम्मान गर्ने एमालेको स्वच्छ उद्देश्यलाई अनेक विरोध सहेर पनि स्थापित गरिएको छ । ज्येष्ठ नागरिकहरू आज समाजमा सम्मान र इज्जतका साथ बाँचिरहनुभएको छ ।’
केपी ओली नेतृत्वको सरकारले भत्ता बढाएर ५ हजार रूपैयाँ पु¥याउने योजना बनाएको भए पनि बीचमै सरकारबाट हट्न परेकाले योजना पूरा गर्न नपाएको पोखरेलको भनाइ छ । ज्येष्ठ नागरिकलाई बोझको दृष्टिले हेर्ने गरेकोमा एमालेले उनीहरूलाई सम्मान दिनुपर्छ भनेर समाजमा चेतना फैलाउने काम गरेको पनि पोखरेलले बताए । पोखरेल २०५१ सालमा तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीको प्रमुख राजनीतिक सल्लाहकार थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २३ कार्तिक २०७९, १६ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
तथ्य र प्रमाणको आधारमा छिमेकीसँग आई टु आई कुरा गर्छौँं: ईश्वर पोखरेल
वरिष्ठ उपाध्यक्ष पोखरेललाई कार्यवाहक अध्यक्षको जिम्मेवारी
चीन र नेपालको सम्बन्ध जनस्तरमा विस्तार आवश्यक : ईश्वर पोखरेल
समान विकासका लागि विश्वका सभ्यताको आदान-प्रदान आवश्यक : ईश्वर पोखरेल
संविधान संशोधन सबैको सहमतिमा हुन्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल
भ्रष्टाचार र आर्थिक अनियमिततामा संलग्न जोकोहीलाई कारवाही हुनुपर्छ : ईश्वर पोखरेल