काठमाडौं । पाक्ने बेला हुँदा पनि धानमा दाना नलागेपछि बागलुङका किसानहरु चिन्तित भएका छन् । स्याङ्जाको वालिङ नगरपालिका १४ को हुल्काङमा लगाईएको धानमा दाना नलागेको हो ।
स्थानीय बजारका एग्रोभेट पसलहरुबाट ‘युएस ३१२’ जातको हाईब्रिड धानको बीउ लगेर रोपेको स्थानीय कृषक टेकप्रसाद डुम्रेले बताए । बिगत २–३ वर्षदेखि यही जातको धान लगाउँदै आएपनि अरुबेला उत्पादन राम्रो भएको तर यसपटक धानमा दानानै नलागेको हो ।
“बिगतमा पनि यही धान लगाउँदै आएको थिएँ यसपटक पनि यही धानको बीउ ल्याएर ब्याड राखी असार ३१ गते धान रोपेको हुँ” उनले भने, “यसपटक त के भयो–भयो, पराल हरियै छ तर धान पसाएर नुग्ने बेलामा नुग्दै नुगेन ।”
डुम्रेले सात रोपनी क्षेत्रफलमा लगाएको धानखेतीमा दाना नै नलागेको हो । मानो खाएर मुरी उब्जाउने समयमा धानमा दाना नलागेर कालै भएपछि उनी चिन्तामा छन् ।
यस ठाउँमा डुम्रेको सात रोपनी र अन्य तीन जना कृषकको दश रोपनी गरी कूल १७ रोपनी क्षेत्रफलमा लगाईएको धानमा दाना नलागेको वालिङ नगरपालिकाका कृषि प्राविधिक केशबहादुर थापाले बताए ।
कृषकले धानमा दाना नलागेको भन्ने खबर गरेपछि सम्बन्धित खेतमै पुगेर अनुगमन तथा निरीक्षण गरेर फर्किएको उनले बताए । “यो ठाउँमा अन्य कृषकहरुले लगाउनुभएको उही जातको धान राम्रो फलेको छ तर चार जना कृषकहरुको खेतमा लगाईएको धानमा दाना नै छैन” उनले भने, “यो अन्य कारणले भन्दा पनि धान पसाएर फूल खेल्ने बेलामा परेको अविरल वर्षाकाकारण क्षति भएको हो ।”
‘युएस ३१२’ जातको हाईब्रिड धान यस ठाउँकालागि उपयुक्त भएपनि ढिलो रोपेकाले पनि समस्या देखिएको उनको दावी छ । केही दिन अघि रोपिएको खेतमा धान राम्रो भएको तर ढिलो रोपिएको साथै फूल खेल्ने बेलामा ४-५ दिनको अविरल वर्षा मुख्य कारण भएको उनले बताए ।
प्रतिक्रिया दिनुहोस
रासस
विहीबार, १७ कार्तिक २०७९, ०७ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बाँकेमा ३२ हजार क्विन्टल धान खरिद
लमजुङमा बढ्यो धान उत्पादन
महोत्तरीमा धान उत्पादन बढ्यो
इलाममा धान उत्पादन घट्यो
बागमती प्रदेशमा धान उत्पादन घट्यो
शिवसताक्षीका ४ वटा वडा नुनिया धानको पकेट क्षेत्र घोषित