ओलीको जवाफः तरबार लिएकासँग मित लगाउन सकिँदैन

सफल खबर संवाददाता

शनिबार, ११ भदौ २०७९, १५ : ५७
ओलीको जवाफः तरबार लिएकासँग मित लगाउन सकिँदैन

काठमाडौं । नेकपा एमालेका नेता घनश्याम भुसालले राखेको चुनावमा वामपन्थी तालमेलको प्रस्तावमा अध्यक्ष ओलीले ‘तरबार लिएकासँग मित लगाउन नसकिने’ जवाफ दिएका छन् ।एमालेको चौथो केन्द्रीय कमिटीको बैठकमा अध्यक्ष ओलीले पेश गरेको राजनीतिक प्रतिवेदनमाथि उठेका प्रश्नहरूको जवाफ दिने क्रममा ओलीले भुसाललाई जवाफ दिएको बैठकमा सहभागी एक नेताले बताए । 

नेता भुसालले एमालेको पोलिटब्युरो बैठकमा आगामी चुनावमा एमालेले वामपन्थीसँग तालमेल गर्नुपर्ने र त्यसको नेतृत्व एमालेले गरेर जानुपर्ने प्रस्ताव राखेका थिए । आगामी चुनाव एमालेले हार्ने अवस्था रहेको र वामपन्थी तालमेल गर्दा प्रशस्त सिट जित्ने अवस्था रहेको भुसालले बताएका थिए ।

अध्यक्ष ओलीले भुसालको प्रस्ताव इन्कार गरेका छन् । भुसालको प्रस्ताव केन्द्रीय कमिटीको एजेण्डामा समेत समावेश नगरेका ओलीले एमालेलाई सिध्याउन दक्षिणपन्थी शक्तिको भरिया बनेकाहरू कम्युनिस्ट हुन नसक्ने भन्दै उनीहरूसँग चुनावी तालमेल नहुने बताएका हुन् । 

भुसालले माओवादी केन्द्र र एकीकृत समाजवादीसँग चुनावी तालमेल गर्नुपर्ने प्रस्ताव पोलिटब्युरो बैठकमा राखेका थिए । ओलीको भनाइ उदृत गर्दै ती नेताले भने, ‘एमालेलाई सिध्याउन दक्षिणपन्थी शक्तिको भरिया बनेकाहरू कम्युनिस्ट हुन सक्दैनन् । यिनीहरूसँग एकता र सहकार्य हुन सक्दैन । तरबार लिएकासँग मित लगाउन सकिँदैन ।’

बैठकमा ओलीले नेताहरूलाई पार्टीको नीतिविपरीत नहिँड्न र विरोधीहरूको बीच लोकप्रिय बन्नका लागि पार्टीलाई घाटा हुने अभिव्यक्ति नदिनसमेत सचेत गराएका छन् ।एमालेमा भुसाललगायतका केही नेताहरूको ओलीको भूमिकाप्रति प्रश्न उठाउने गरेका छन् । 

प्रतिक्रिया दिनुहोस