काठमाडौं । नेकपा माओवादी केन्द्रकी स्थायी समिति सदस्य एवं पूर्वसभामुख ओनसरी घर्तीले राजनीतिक दलहरूले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ बढीभन्दा बढी महिलालाई उम्मेदवार बनाउनुपर्ने बताएकी छिन्।
हरेक पार्टीमा प्रत्यक्ष निर्वाचन लड्ने क्षमताका महिला नेताहरू रहेको भन्दै उनले टिकट वितरणमा ध्यान दिन राजनीतिक नेतृत्वलाई आग्रह गरिन्।नेताहरूमा महिलाहरू समानुपातिकका लागि मात्र हुन् भन्ने मनोविज्ञानले घर गरेको र स्वयं महिलाहरूसमेत समानुपातिक पद खान लालायित हुने प्रवृत्ति देखिएको उनको भनाइ थियो।
माओवादी जनयुद्धका कारण नेपाली महिलाहरूमा जागरण आएको तथा सिंगो समाज महिलामैत्री बन्दै गएको उल्लेख गरिन्। पुरुषहरूलाई पितृसत्तावादी भनेर गाली गर्ने महिलाहरू आफैँ त्यो मनोदशाबाट ग्रस्त भएको उनको टिप्पणी थियो।
घर्तीले आफूभित्रको पृत्तसत्तावाद जबर्जस्त निकालेर फाल्न सक्नुपर्नेमा जोड दिइन्।महिलालाई अगाडि बढाउने विषयमा विगतको तुलनामा धेरै परिवर्तन आएको र पुरुष नेतृत्वले समन्वय गर्ने गरेको उनले बताइन्।
‘राजनीतिक पार्टीहरूमा महिलाले आफ्नो पकड निर्वाचन क्षेत्र बनाउन सक्दैनन् भन्ने पनि छ’, पार्टी संवद्ध महिला संगठन अखिल नेपाल महिला संघ क्रान्तिकारीले राजधानीमा गरेको कार्यक्रममा घर्तीले भनिन्, ‘महिलाहरू समानुपातिकमा मात्र लालायित हुँदा र प्रत्यक्ष निर्वाचन लड्न तयार नहुँदा पुरुष नेताहरूमा महिला भनेका समानुपातिकका लागि मात्र हुन् भन्ने मनोविज्ञान निर्माण भएको छ।’
महिलाले अवसर पाए जस्तोसुकै जिम्मेवारी पुरा गर्न सक्छन् भन्ने प्रमाणित भएको भन्दै उनले त्यसको उदाहरण आफैँ भएको चर्चा गरिन्।माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूमाथि ठूलो विश्वास र भरोसा गरेर सभामुखको जिम्मेवारी दिएको स्मरण घर्तीले गरिन्।
‘६ महिना त म दिनमा २ घण्टा मात्र सुतेँ। कहिलेकाहीँ त त्यो पनि भएन’, उनले भनिन्, ‘भोलिपल्ट बस्ने संसदमा जुन विषयमा छलफल छ त्यसबारे धेरै अध्ययन गरेर जान्थेँ। मैले संविधानका प्रत्येक हरफ हातले डायरीमा कोरेर पढेको छु। संसद सचिवालयमा धुलोले पुरिएका किताब धुलो टक्टक्याएर पढेर बैठकमा जाने गरेको थिएँ।’
घर्तीले महिलालाई अवसर र सम्मान दिने कुरामा माओवादी नेतृत्व अरू दलको तुलनामा धेरै प्रगतिशील रहेको दाबी गरिन्।‘महिलालाई अवसर दिने र सम्मान गर्ने संस्कार अरू पार्टीको तुलनामा माओवादीमा धेरै राम्रो छ’, उनले भनिन्।
महिलाले राष्ट्रपति, सभामुख र प्रधानन्यायाधीश चलाइसकेकाले अब प्रधानमन्त्री बन्नेपालो महिलाको आएको पूर्वसभामुख घर्तीकाे भनाइ छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ११ भदौ २०७९, १४ : ४६
लेखकबाट थप