मेयर शाहको अराजक गतिविधिले राजनीतिक प्रणालीमाथि आघात पुर्‍याउँछ : नेता विश्वकर्मा

सफल खबर संवाददाता

शुक्रबार, १० भदौ २०७९, १८ : १३
मेयर शाहको अराजक गतिविधिले राजनीतिक प्रणालीमाथि आघात पुर्‍याउँछ : नेता विश्वकर्मा

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री मीनबहादुर विश्वकर्माले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले अराजक गतिविधिलाई बढावा दिईरहेको टिप्पणी गरेका छन् ।

काठमाडौं महानगरपलिकाका मेयर शाहले अनधिकृत रुपमा बनाइका भौतिक संरचनाहरु डोजर लगाएर भत्काउने काम गरिरहँदा कांग्रेस नेता विश्वकर्माको यस्तो प्रतिक्रिया बाहिर आएको हो । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले कानुनी दायरामा ल्याएर कारबाही गर्ने अधिकार हुँदाहुँदै मेयर शाहले ती भौतिक संरचनाहरु हटाउँदा अराजकता सृजना गरेको भन्दै आपत्ति समेत जनाए ।

गृहमन्त्रीलाई बन्दुक चलाउने अधिकार भयो भन्दैमा बन्दुक चलाउन नमिल्ने तर्क गर्दै नेता विश्वकर्माले स्थानीय तहको बजार व्यवस्थापन गर्ने नाममा मेयरहरुले अराजक गतिविधि गर्न नहुने बताए । यस्ता गतिविधिले अराजकतालाई बढावा दिने उनको भनाइ थियो ।

नेता विश्वकर्माले भने, ‘हामी आज बजारमा के–के देख्दै छौ त ? भत्काउँदै हिँडनु भएको छ नि हैन, मेयर साब । हाम्रो सिष्टमले भनेको त्यो हो त ? त्यसको कानुनी प्रक्रिया छैन ? अब भोलिदेखि सबै मेयरहरुले भत्काउँदै हिँडने हो भने त । गृहमन्त्रीलाई बन्दुक चलाउने अधिकार छ । स्थानीय तहको बजार व्यवस्थापन गर्ने सबै अधिकार मेयरलाई छ । तर, अधिकार छ भनेर शान्ति, सुरक्षा भएन भनेर गृहमन्त्री आफैंले बन्दुक बोकेर हिँडनु भयोभने के हुन्छ ? हाम्रो सिष्टमलाई कति व्यवहारिक र अनुशासित भएर संचालन गर्छौै ? हामीले छलफलयता केन्द्रित नगरेको हो कि ?

नेता विश्वकर्माले गल्ती गर्नेहरुलाई मेयर शाहले बयान लिने, जरिवाना गर्ने प्रावधान भएपनि आतंकित बनाउने काम गरेको गुनासो समेत गरे । उनले भने, ‘गल्ती गर्नेलाई पत्र काटे भयो । उसलाई उपस्थित गराउने, बयान लिने र जरिवाना गरे भईहाल्यो । यतातिर ध्यान दिन जरुरी छ ।’ उनले मेयर शाहको यस्तो गतिविधिले हाम्रो राजनीतिक प्रणालीमाथि नै आघात पु¥याउनेतर्क समेत गरे ।

प्रतिक्रिया दिनुहोस