काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटी बैठकमा प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा सत्ता गठबन्धनको तीव्र आलोचना गरेका छन् । पाँच दलीय गठबन्धन सरकारको गलत नीतिका कारण मुलुक भूराजनीतिक द्वन्द्वको शिकार हुने खतरा बढेको प्रतिवेदनमा उल्लेख छ ।
ओलीले जारी गरेको प्रतिवेदनमा भनिएको छ, ‘जनादेशबाट गठित सरकारलाई परमादेशबाट विस्थापन गर्दै बनेको गठबन्धन सरकारले यस अवधिमा राष्ट्र र जनताका आधारभूत हितमाथि एकपछि अर्को आँच पुर्याउँदै मुलुकलाई गहिरो सङ्कटतिर धकेल्न उद्यत देखिएको छ । राज्य साझेदारी कार्यक्रम (एसपीपी) सम्झौताका लागि भएको भित्री तयारी, नागरिकता विधेयक सम्बन्धमा सरकारको अनुचित हठ, जलश्रोतसँग सम्बन्धित हालै भएका कतिपय समझदारीहरू, छिमेक सम्बन्धमा उत्पन्न असन्तुलन आदिका कारण मुलुकको बाह्य सम्बन्ध नराम्रो गरी खलबलिएको छ।’
मुलुकमा जुन ढङ्गको राजनीतिक नवीकरण भइरहेको छ त्यो तत्कालका लागि यो चुनौतीपूर्ण भएपनि दीर्घकालीन हिसाबले सकारात्मक रहेको ओलीको ठहर छ।
‘तत्कालका लागि देखिएको प्रतिकुल शक्ति सन्तुलन, हाम्रा विरूद्धको घेराबन्दी र बृहत् षड्यन्त्र सतहमा हेर्दा चुनौतीपूर्ण देखिएपनि यो अभेद्य छैन, स्थानीय निर्वाचनमै पनि हामीले देख्यौं– व्यापक घेराबन्दीलाई चिर्दै नयाँ ढंगले अगाडि बढेको हाम्रो पार्टीले सत्ताको चरम दुरूपयोग र गठबन्धनका बाबजुद जनताको सर्वाधिक मत र विश्वास हासिल गर्न सफल भयो ।’ प्रतिवेदनमा भनिएको छ ।
प्रदेशहरूमा मन्त्रालय र मन्त्रीहरूको सङ्ख्याको जथाभावी विस्तार र देखिएको बेथितिका कारण जनतामा प्रादेशिक संरचना, सङ्घीय प्रणाली र समग्रमा राजनीतिक उपलब्धिहरूप्रति नै वितृष्णा बढ्न थालेको ओलीले प्रतिवेदान उल्लेख गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १० भदौ २०७९, १४ : २५
लेखकबाट थप