बालेनलाई समर्थन गर्दै झाँक्री

सफल खबर संवाददाता

शुक्रबार, १० भदौ २०७९, १३ : ३७
बालेनलाई समर्थन गर्दै झाँक्री

काठमाडौँ  । नेकपा एकीकृत समाजवादीकी नेतृ तथा पूर्वमन्त्री रामकुमारी झाँक्रीले काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहको कदमलाई समर्थन गर्दै सँगै मिलेर बनाएको योजनामा अगाडि बढ्न आग्रह गरेकी छन्।

उनले शुक्रबार दिउँसो फेसबुकमा ९ बुँदे आग्रहसहितको स्टाटस पोष्ट गर्दै यस्तो आग्रह गरेकी हुन्।झाँक्रीले मेयर शाहलाई आफूले जस्तो दलीय दबाब व्यहोर्न नपर्ने तर्क गरेकी छन्। उनले अनधिकृत संरचनामा डोजर लगाउने मेयर शाहको कदमलाई समर्थन गर्दै अगाडि गर्नुपर्ने कामहरूको सूची पनि प्रस्तुत गरेकी छन् ।

‘यसपछि अब पालो हुनेछ उपत्यकाका नदी किनारका अतिक्रमण हटाउने,’ उनले लेखेकी छन्, ‘मैले बागमती करीडोरका ४१ वटा अतिक्रमित संरचना हटाएइसकेको थिएँ, निर्वाचन आएकोले नगरौँ भन्ने दबाब आयो र स्थगन गर्न पर्‍यो।’ पार्टीको दबाबको बावजुद स्थानीय चुनावपछि २ जेठ २०७९ बाट करीडोरका अतिक्रमित संरचना पुनः हटाउन सुरु गरेको बताएकी छन्।

झाँक्रीले आफू मन्त्री रहँदा मेयर शाहसँग बसेर केही योजना बनाएको स्मरण पनि गरेकी छन्।‘सुकुम्बासीको नाममा अतिक्रमण भएका स्थानहरूलाई खाली गर्ने कामको पनि केही योजना बनेको छ’ उनले लेखेकी छन्, ‘मलाई जस्तो दलीय दबाब मेयर बालेन जीलाई हुँदैन।’

स्टाटसको अन्तिम बुँदामा झाँक्रीले इमान्दार प्रयासहरू सफल हुने उल्लेख गरेकी छन्।

प्रतिक्रिया दिनुहोस