प्रदीप गिरि विजयी भएको स्थानबाट चुनाव लड्ने सरिता गिरिको घोषणा

सफल खबर संवाददाता

विहीबार, ०९ भदौ २०७९, १२ : ००
प्रदीप गिरि विजयी भएको स्थानबाट चुनाव लड्ने सरिता गिरिको घोषणा

काठमाडौं । बुधबार मात्र सदभावना पार्टी परित्याग गरेकी सरिता गिरीले आगामी प्रतिनिधिसभा निर्वाचनमा सिराह -१ बाट चुनाव लड्ने घोषणा गरेकी छन् । नेतृ गिरीले बिहीबार बिहान सामाजिक सञ्जालमार्फत चुनाव लड्ने घोषणा गरेकी हुन् । उनले चुनावमा सहयोगका लागि सबैसँग आग्रह पनि गरेकी छन् ।

लामो समयसम्म मधेस केन्द्रित दलमा रहेर राजनीति गर्दै आएकी गिरी स्वतन्त्र वा कुन दलबाट चुनाव लड्दै छिन् भन्ने खुलेको छैन । बुधबार उनले दिवंगत कांग्रेस नेता प्रदीप गिरीको आग्रहअनुसार आफूले सदभावना पार्टी परित्याग गरेको बताएकी थिइन् । सरिता प्रदीप गिरीकी भाइबुहारी हुन् । उनी दुई वर्षअघि जसपा छाडेर सदभावना प्रवेश गरेकी थिइन् ।

‘म सिराहको १ नम्बर निर्वाचन क्षेत्रबाट सांसद पदका लागि निर्वाचन लड्न गइरहेको छु । यो आधिकारिक घोषणा हो । सबैजनासँग सहयोगका लागि विनम्रतापूर्वक आग्रह गर्दछु,’ उनले लेखेकी छन् ।

सिराह १ मा २०७४ को निर्वाचनमा नेपाली कांग्रेसबाट प्रदीप विजयी भएका थिए । ०५६ को निर्वाचनबाहेक सबै निर्वाचनमा प्रदीप सोही क्षेत्रबाट विजयी हुँदै आएका थिए ।

प्रतिक्रिया दिनुहोस