न्यायाधीश शाहको रिटमा अन्तरिमा आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

सफल खबर संवाददाता

बुधबार, ०८ भदौ २०७९, १४ : ३०
न्यायाधीश शाहको रिटमा अन्तरिमा आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

काठमाडौँ ।  बर्खास्तीमा परेकी उच्च अदालतकी न्यायाधीश रेणुका शाहको मागबमोजिम अन्तरिम आदेश जारी गर्न सर्वोच्च अदालतले अस्वीकार गरेको छ। शाहले आफ्नो बर्खास्ती खारेज गर्नेसम्बन्धी अन्तरिम आदेश माग गर्दै रिट दायर गरेकी थिइन्। तर, सर्वोच्च अदालतका न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले मंगलबार निवेदकको मागबमोजिम अन्तरिम आदेश जारी गर्नु नपर्ने फैसला गरेको हो।

‘न्यायाधीश नियुक्ति र पदमुक्त गर्नेसम्बन्धी समग्र प्रावधानहरु तथा न्यायिक अभ्यास र सिद्धान्तहरुको सापेक्षतामा व्याख्या गरी पूर्ण सुनुवाइको अवस्थामा नै सबै प्रश्नरुको निरुपण गर्नु उचित देखियो’, आदेशमा भनिएको छ, ‘रिट निवेदकको योग्यतासम्बन्धी यस प्रकारको महत्वपूर्ण प्रश्न खडा भएको अवस्थामा अहिले निवेदकको मागबमोजिम अन्तरिम आदेश जारी गर्नु सुविधा सन्तुलन तथा अपूरणीय क्षति समेतका अवधारणागत दृष्टिले मनासिव देखिएन।’

पूर्व प्रधानन्यायाधीश रामकुमारप्रसाद शाहकी छोरी भएकैले ‘सोर्स’मा २०७५ चैतमा उच्च अदालतको न्यायाधीश नियुक्त भएकी शाहलाई ‘योग्यता नपुगेको’ भन्दै न्याय परिषद्‌ले असार २४ गते बर्खास्त गर्न सिफारिस गरेको थियो।

परिषदको सिफारिसका आधारमा कामु प्रधानन्यायाधीश दीपक कार्कीले शाहलाई पदबाट बर्खास्त गरेका थिए। उक्त बर्खास्तीविरुद्ध शाहले बिहीबार सर्वोच्चमा रिट दायर गरेकी थिइन्।

शाहले एक दिन पनि कानुन व्यवसायीको रुपमा काम नगरे पनि ‘सोर्स’कै आधारमा उच्च अदालतको न्यायाधीशजस्तो महत्वपूर्ण जिम्मेवारी दिइएको थियो।

प्रतिक्रिया दिनुहोस