महाअभियोग सिफारिस समितिको दोस्रो बैठक मंगलबार बस्दै

सफल खबर संवाददाता

सोमबार, ०६ भदौ २०७९, १६ : ३०
महाअभियोग सिफारिस समितिको दोस्रो बैठक मंगलबार बस्दै

काठमाडौं । महाअभियोग सिफारिस समितिको बैठक मंगलबार बस्ने भएको छ । यो समितिको पहिलो बैठक भदौ १ गते बसेको थियो । दोस्रो बैठक ७ गते मंगलबार बस्न लागेको हो । समितिका ज्येष्ठ सदस्य रामबहादुर विष्टका अनुसार मंगलबार दिउँसो २ बजे बैठक बस्ने तय भएको छ । उक्त बैठकमा यसअघि वितरण भएको समितिको आन्तरिक कार्यविधि पास गर्ने र प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथिको अध्ययन कार्यपालिका पेस गर्ने कार्यसूची छ । 

‘महाअभियोग उपर कुन दिन के गर्ने, कति दिनमा सकाउने भनेर कार्यपालिका पेस गर्ने र पास गर्ने हाम्रो प्रयास रहन्छ’ मंगलबारको बैठकको तयारीबारे जानकारी दिँदै ज्येष्ठ सदस्य विष्टले भने ।साथसाथै, समितिको सभापति चयनको विषय पनि उठ्न सक्ने उनले बताए । ‘पहिलो बैठकमा सभापतिको कुरा उठेको थियो । यसबीचमा सभापतिकै लागि खास तयारी त भएको छैन । तर, पनि उठ्न सक्छ,’ विष्टले भनेका छन् । प्रतिनिधिसभामा दर्ता भएको जबरा विरुद्धको महाअभियोग उपर अध्ययन गर्ने जिम्मेवारी महाअभियोग सिफारिस समितिले २२ साउनमा पाएको थियो । जिम्मेवारी पाएको नौ दिनपछि महाअभियोग सिफारिस समितिको पहिलो बैठक बसेको थियो । पहिलो बैठक बसेको सात दिनपछि मंगलबार दोस्रो बैठक बस्न लागेको हो ।

१ फागुन २०७८ मा ९८ जना प्रतिनिधिसभा सदस्यहरूले जबराविरुद्ध महाभियोग दर्ता गराएका थिए । जबरा विरुद्धको महाभियोग प्रस्ताव २९ फागुन २०७८ मा प्रतिनिधिसभा बैठकमा पेस भएको थियो । प्रतिनिधिसभाले २२ साउन २०७९ मा जबरा विरुद्धको महाअभियोग प्रस्ताव, महाअभियोग सिफारिस समितिमा पठाएको थियो । 

प्रतिनिधिसभा नियमावलीले महाअभियोग दर्ता भएपछि दुई साताभित्रै छानबिनका लागि महाअभियोग सिफारिस समितिमा पुग्ने र समितिले जिम्मेवारी पाएको ३ महिनाभित्र अध्ययन सकाएर सिफारिस गर्नुपर्ने भनेको छ ।  

प्रतिक्रिया दिनुहोस