सरकारले धार्मिक पर्यटकलाई भित्र्याउने वातावरण निर्माण गर्नुपर्ने : मन्त्री श्रेष्ठ

सफल खबर संवाददाता

सोमबार, ०६ भदौ २०७९, १४ : ३३
सरकारले धार्मिक पर्यटकलाई भित्र्याउने वातावरण निर्माण गर्नुपर्ने : मन्त्री श्रेष्ठ

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले सरकारले धार्मिक पर्यटकलाई भित्र्याउने वातावरण निर्माण गर्नुपर्ने बताएका छन्।सोमबार पशुपति संग्रहालय महास्नान घरको उद्घाटन गर्दै मन्त्री श्रेष्ठले सरकारले विश्वका हिन्दु धर्मावलम्वीलाई पशुपतिनाथको दर्शनका लागि नेपाल भित्र्याउने वातावरण निर्माण गर्नुपर्ने बताए। उनले पशुपतिनाथ विश्वका हिन्दु धर्मालम्वीहरुको आस्थाको केन्द्र रहेकोले विश्वका हिन्दु धर्मावलम्वीहरू एक पटक पशुपति आउनुपर्ने मान्यतासमेत रहेको बताए। 

मन्त्री श्रेष्ठले पशुपति परिसर आफैँमा सभ्यताको पहिचान बोकेको स्थान रहेको पनि बताए। उनले पशुपति परिसरको व्यवस्थापन, सरसफाई र पूजा, आराधना गर्न आउने धर्मावलम्बिहरुलाई मैत्रीपूर्ण वातावरण बनाउने तथा मर्मत सम्भार र संरक्षण गर्ने  विषयमा पशुपति क्षेत्र विकास कोषले ध्यान दिन जरुरी रहेको बताए।

​मन्त्री श्रेष्ठले नेपालको पर्यटन क्षेत्र विकासको लागि मुलुकका साँस्कृतिक सम्पदाहरूलाई संरक्षण  र सम्वर्द्धन गरे मात्रै पर्यटन विकास गर्न सकिने दाबी गरे। मन्त्री श्रेष्ठले मन्त्रालयले पर्यटन पुनरुत्थानका लागि ७३ बुँदे कार्यक्रम घोषणा गर्दा साँस्कृतिक सम्पदाको संरक्षण गर्ने तथा मूर्त र अमूर्त सम्पदाहरूको संरक्षणमा महत्व दिएको बताए।

उनले मूर्त र अमूर्त सम्पदाहरूको संरक्षण र सम्वर्द्धनबाट मात्रै नेपालमा सांस्कृतिक र धार्मिक  पर्यटकको अभिवृद्धि गर्न सकिने दाबी गरे। भूकम्पबाट क्षतिग्रस्त पशुपति सङ्ग्रहालयको मर्मत सम्भार नेपाल इन्भेष्टमेन्ट बैंकले गरेको हो। बैंकले महास्नान घरमै ऐतिहासिक वस्तुको प्रदर्शन गर्न म्युजियम पनि निर्माण गरेको जनाएको छ।

 

 

प्रतिक्रिया दिनुहोस