डिजे नआउँदा दरबारमार्गको नाइट क्लबमा तोडफोड

विहीबार, २८ मंसिर २०७४, ११ : ५०
डिजे नआउँदा दरबारमार्गको नाइट क्लबमा तोडफोड

काठमाडौं । चर्चित अन्तर्राष्ट्रिय डीजे मार्समेलोले धोका दिएपछि उनका समर्थकहरुले काठमाडौंको दरबारमार्गमा रहेको नाइट क्लब डेजाभूमा बुधबार मध्यराति तोडफोड गरेका छन् ।
क्लबमा अमेरिकन डिजे मार्समेल्लोले कार्यक्रम तय थियो । तर, अन्तिम समयमा डिजेले स्वास्थ्यको कारण देखाउँदै कार्यक्रममा उपस्थित नभएपछि त्यहाँ उपस्थित दर्शकहरुले क्लबमा तोडफोड गरेका हुन् ।

महानगरीय प्रहरी परिसर दरबारमार्गका डिएसपी तिलक भारतीका अनुसार तोडफोडपछि क्लबमा सामान्य क्षति भएको छ । प्रहरीले समयमानै स्थिति नियन्त्रणमा लिएको कारण ठूलो दुर्घटनाबाट जोगिएको उनले बताए ।

‘क्लबको क्षमताभन्दा बढी टिकट बाँडिएको रहेछ । करिब ४ हजार टिकट विक्री भएको थियो,’ डिएसपी भारतीले रातोपाटीसँग कुरा गर्दै भने, ‘दर्शकहरुको अत्याधिक चाप त्यसमाथि पनि आउने भनिएका डिजे उपस्थित नहुँदा तोडफोड भएको हो ।’ उनका अनुसार क्षतिको यकिन विवरण आउन बाँकी रहेको छ ।

प्रत्यक्षदर्शीका अनुसार कार्यक्रम रद्द भएपछि अबेर राती क्लबमा उपस्थित दर्शकहरु तोडफोडमा उत्रिएका थिए । उनीहरुले बियरका बोतलहरु प्रहार गर्नुका साथै त्यहाँका समाग्रीहरु तोडफोड गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस