रुपन्देही । रुपन्देहीमा डेङ्गुको सङ्क्रमण बढ्दै गएको छ । गत वर्षको तुलनामा यो वर्ष डेङ्गुका बिरामी धेरै देखिएका छन् ।
आर्थिक वर्ष २०७८र७९ मा दुई सय ६९ डेङ्गुका बिरामी भेटिएका थिए । गत आवमा ४६ जनामा डेङ्गु सङ्क्रमण देखिएको स्वास्थ्य कार्यालय रुपन्देहीका भेक्टर कन्ट्रोलर निरीक्षक केदारनाथ शाहले जानकारी दिए। जिल्लामा २०६७ देखि डेङ्गुको समस्या देखिएको हो । २०६७र६८ मा दुई सय ९० जनामा डेङ्गुको सङ्क्रमण देखिएको थियो । आव २०७६र७७ मा यो सङ्ख्या बढेर दुई हजार नौ सय ३० पुगेको थियो ।
यो सङ्ख्या गत वर्ष घटेर ४६ मा झरेको थियो । अहिले पुनः बढ्दै गएकाले नियन्त्रण र रोकथामका लागि सबैको सक्रियता आवश्यक रहेको शाह बताउँछन् । डेङ्गुको रोकथामका लागि लार्भा नष्ट गर्ने अभियान उपयुक्त हुने उनको भनाइ छ । डेङ्गुको सङ्क्रमण बढ्दै गए पनि फेयरमेट फाउन्डेसन नेपाल र इन्द्रेणी सामुदायिक केन्द्रको सहयोगमा बुटवल उपमहानगरपालिकाले बुधबार बुटवलमा डेङ्गु रोग नियन्त्रण तथा रोकथामका सम्बन्धमा अभिमुखीकरण कार्यक्रममा डेङ्गुको अवस्थाबारे जानकारी गराउँदै शाहले समयमै नियन्त्रण नगरे यसले महामारीको रूप लिन सक्ने बताए।
“खोप छैन, त्यसैले जोखिम छ । घरमा पानी जम्ने ठाउँ छ भने सफा राख्नुपर्छ । लामखुट्टेको टोकाइबाट बच्नुपर्छ”, उनले भने । डेङ्गुको सङ्क्रमण बढ्दै गएपछि बुटवल उपमहानगरपालिकाले अभियान सुरु गरेको छ । उपमहानगरका सबै वडामा डेङ्गु नियन्त्रणका लागि सचेतनामूलक अभियान थालेको उपमहानगर प्रमुख खेलराज पाण्डेले बताए। अभियानअन्तर्गत समूह समूहमा लार्भा खोज र नष्ट गर अभियान, क्लोरिनको झोल स्प्रे गर्ने तथा पर्चा पम्पेटिङ वितरणको काम हुने उनको भनाइ छ ।
विपद् व्यवस्थापन समितिको अगुवाइमा स्वास्थ्यकर्मीको साथ लिएर टोल टोलमा कार्यक्रम चलाउन थालिएको उपप्रमुख सावित्रादेवी अर्याल बताउँछिन् । यो एक सरुवा रोग भएकाले महामारीको रूप लिन नदिन सबै सचेत हुनुपर्नेमा उनको जोड छ । यसको सङ्क्रमणले ज्वरो आउने, आँखा रातो हुने र दुख्ने, टाउको, पेट, जोर्नी तथा मांसपेशी दुख्ने, आलस्य हुने, वाकवाकी लाग्ने, पेट दुख्ने, नाक वा गिजाबाट रगत बग्ने, रक्तस्राव हुने वा शरीरमा रगत जमेको दाग देखा पर्ने, बेहोस हुनेजस्ता लक्षण देखा पर्छन् ।
एक प्रकारको विषाणुबाट डेङ्गु भइसकेको व्यक्तिलाई अर्को प्रकारको विषाणु भएको लामखुट्टेले टोकेको अवस्थामा डेङ्गु घातक हुन्छ । डेङ्गु ज्वरो पाँचदेखि सात दिनसम्म रहन सक्छ । डेङ्गु लागेमा मानिसको रक्त कोष घट्न गई रोग प्रतिरोधात्मक क्षमतामा ह्रास आउने र बिरामी अझै कमजोर हुने गर्दछन् । तीन दिनदेखि १० दिनसम्म लगातार ज्वरो आयो भने डेङ्गु भएको बुझ्नुपर्ने निरीक्षक शाह बताउँछन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २६ साउन २०७९, १० : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गण्डकीमा डेङ्गुबाट सात जनाको मृत्यु
बागलुङमा सात सय ९८ जनामा डेङ्गु सङ्क्रमण
डेङ्गु सङ्क्रमण बढ्यो, कसरी जोगिने ?
गलकोटमा डेङ्गु र स्क्रबटाइफसका ५८ बिरामी
सुदूरपश्चिममा डेङ्गु सङ्क्रमित बढ्दै
७१ जिल्लामा फैलियो डेङ्गु सङ्क्रमण