सम्झौताविपरीका संरचनाबारे जानकारी लिन मेयर बालेनको टोली नर्भिक अस्पतालमा

सफल खबर संवाददाता

मंगलबार, २४ साउन २०७९, १५ : २८
सम्झौताविपरीका संरचनाबारे जानकारी लिन मेयर बालेनको टोली नर्भिक अस्पतालमा

काठमाडौं  । नर्भिक अस्पतालले बनाएको संरचना भत्काउने विषयमा जानकारी लिन मेयर बालेन्द्र साह आफैँ थापाथली पुगेका छन् ।सोमबार काठमाडौं महानगरपालिकाले सम्झौताविपरीत नक्सा पास नगरी बनाएका संरचना हटाउनेबारे २४ घन्टे अल्टिमेटम दिएको थियो ।

यसबारे जानकारी लिन मंगलबार दिउँसो मेयर बालेन आफैँ नर्भिक अस्पताल पुगेका हुन् । उनले प्रहरी र महानगरका टोली लिएर नर्भिक पुगेका थिए । उनले त्यहाँ भवन निर्माणका अवस्था, नक्सा लगायतका विषयमा जानकारी लिएका थिए ।

यता अस्पतालले भने अक्सिजनलगायत अत्यावश्यक संरचना रहेको भन्दै हटाउन नसकिने बताएको छ । साथै नर्भिक अस्पतालका प्रतिनिधिले स्थायी संरचना बनेको भन्दै मेयर बालेन शाहलाई आस्वस्त पार्ने प्रयास गरेका थिए । उनीहरूले ट्रस स्टक्चर बनाएको र चाहेको खण्डमा अटाउन सकिने समेत बताएका थिए ।यसअघि नर्भिक अस्पतालले पत्रकार सम्मेलन गरेर २० वर्षका लागि सम्झौता गरेकाले संरचना हटाउन नसकिने बताएको थियो ।

सोमबार महानगरले नर्भिक अस्पताललाई पत्र काट्दै सरकारसँग भएका सम्झौताविपरीत र नक्सापास स्वीकृत नगरी निर्माण भएको भन्दै हटाउन भनेको थियो ।

सहरी व्यवस्थापन विभागका प्रमुख सुरज शाक्यले नेपाल सरकारको नाममा दर्ता रहेको जग्गा हस्पिटलले भाडामा लिई क्यान्टिन भवनलगायत सम्झौताविपरीत र नक्सापास स्वीकृत नगरी निर्माण भएको पाइएकाले हटाउन भनिएको बताए ।

प्रतिक्रिया दिनुहोस