डोटीमा बजार अनुगमन शुरू

सफल खबर संवाददाता

मंगलबार, १७ साउन २०७९, १२ : ४१
डोटीमा बजार अनुगमन शुरू

काठमाडौं । डोटीमा दैनिक उपभोग्य वस्तुको मूल्यमा व्यापारीले मनोमानी मूल्यवृद्धि गरेको गुनासो आउन थालेपछि जिल्ला प्रशासन कार्यालयले बजार अनुगमन गर्न शुरू गरेकोे छ । जिल्लामा दाल, चामल, तेल, मसला तथा सागसब्जीको मनपरि मूल्य लिँदै आएको गुनासो बढेपछि बजार अनुगमन शुरू गरिएको हो । 

जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, गुणस्तर तथा नापतौल कार्यालय तथा उद्योग वाणिज्य संघले संयुक्तरूपमा विभिन्न बजार अनुगमन गर्न थालेका छन् ।यहाँका बजारमा विगतको समयमा चामल प्रतिकिलो रु ८० पर्नेमा हाल रु ११०देखि १२०, खाने तेल रु ४००, दाल रु १००, गोलभेँडा रु १६० पुगेको छ । आलु प्रतिकिलो रु १००, भिन्डी रु ७०, काउली रु ९०, रायोको साग मुठाको रु ५०, लौका र फर्सी प्रतिकिलो रु ४० देखि ५० पुगेको उपभोक्ताको गुनासो छ । 

बजार मूल्यमा एकरुपता कायम गराउन तथा तोकिएको मूल्यभन्दा बढी मूल्य नलिनसमेत जिल्ला प्रशासनले सबैमा आग्रह गरेको छ । पछिल्लो केही दिनयता जिल्ला प्रशासनले प्रमुख व्यापारी केन्द्र पिपल्ला, दिपायल, राजपुर, एयरपोर्ट तथा सिलगढीका बजारमा अनुगमनलाई तीव्रता दिएको छ । 

दैनिक उपभोग्य वस्तुमा मूल्यवृद्धि नहोस् र उपभोक्ता नठगिऊन् भन्ने उद्देश्यले प्रभावकारी बजार अनुगमन शुरू गरिएको प्रशासकीय अधिकृत दीपा जोशीले बताइन् । उनले भनिन्, ‘तोकिएको मूल्यभन्दा बढी रकम लिएर उपभोक्ता ठग्ने जोसुकैलाई तत्काल कारबाही गर्छौँ ।’

अनुगमनमा टोलीले यहाँको गोपघाट, कालागाढ, बानीड्ग्रीसैनलगायत क्षेत्रमा रहेका पसलमा पनि अहिले अनुगमन गरिरहेको छ । उपभोक्ताका अनुसार यहाँका सहरसहित ग्रामीण क्षेत्रका पसलमा व्यापारीले मनपरि मूल्य लिने गरेका छन् । 

अनुगमन समितिले यहाँका प्रमुख बजारसहित अन्य बजारमा मूल्यसूची, अखाद्य वस्तु भए÷नभएका बारेमा जानकारी लिनाका साथै गोदाममा कति खाद्यवस्तु मौज्दात छ सो विषयमा जानकारी लिन थालेको छ ।

प्रतिक्रिया दिनुहोस