‘ए’ डिभिजन लिगका लागि बोलाइएको बैठक दोस्रोपटक स्थगित

सफल खबर संवाददाता

आइतबार, १५ साउन २०७९, १४ : १८
‘ए’ डिभिजन लिगका लागि बोलाइएको बैठक दोस्रोपटक स्थगित

काठमाडाैँ  । सहिद स्मारक ‘ए’ डिभिजन लिग तयारीका लागि बोलाएको बैठक दोस्रो पटक स्थगित भएको छ ।अखिल नेपाल फुटबल संघ (एन्फा) ले यस सिजनको ‘ए’ डिभिजन लिगका लागि आइतबार बैठक बोलाएको थियो । तर, सहभागी १४ क्लबलाई एन्फाले बैठक स्थगित भएको जानकारी बिहान मात्र मेलमार्फत  गराएको हो ।  

एन्फा महासचिव किरण राईले आइतबार बोलाइएको बैठक स्थगित भएको बताए । ‘आजलाई तय बैठक स्थगित भएको छ,’ राईले भने । उनले आफू अस्वस्थ भएका कारण बैठक स्थगित भएको जनाएका छन् । 

यसअघि एन्फाले गत शुक्रबारलाई बैठक बोलाएको थियो । तर, सो बैठकसमेत स्थगित भएको थियो । ‘लगातार दुई पटक बैठक बोलाउनु भयो । तर, दुवै स्थगित भनेका छन् । कार्यसमितिको झैँ लिगको समेत दुई पटक स्थगित भइसकेको छ । के गरेका हुन् थाहा छैन?,’ सहिद स्मारक लिग क्लबका एक प्रतिनिधिले भने । 

पंकजविक्रम नेम्बाङ ६ असारमा एन्फाको अध्यक्षमा निर्वाचित भएयता एन्फाको वैधानिक बैठक बस्न सकेको छैन । यसअघि दुई पटक कार्यसमिति बैठक बोलाए पनि बस्न सकेन ।२ साउनमा बोलाइएको पहिलो बैकठमा अध्यक्ष नेम्बाङ एक्कासि अवस्थ भएपछि बैठक स्थगित गरिएको थियो । ४ साउनमा बसेको दोस्रो बैठकसमेत एजेन्डामा प्रवेश नगरी स्थगित भयो । 

प्रतिक्रिया दिनुहोस