कागेश्वरी मनोहरा हैजाको ‘रेड जोन’मा

सफल खबर संवाददाता

आइतबार, १५ साउन २०७९, १३ : ३३
कागेश्वरी मनोहरा हैजाको ‘रेड जोन’मा

काठमाडौं । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका क्षेत्र अझै हैजाको ‘रेड जोन’मा छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार यो पालिकामा हैजा संक्रमितको संख्या नौ पुगेको छ ।

गएको असार ५ गतेदेखि काठमाडौंमा फैलिएको हैजा संक्रमण अहिलेसम्म चार जिल्लामा देखिएकोे छ । काठमाडौं उपत्यकाका तीनसहित नुवाकोटको ककनीमा समेत हैजा पुष्टि भएको छ । हाल देशभर हैजा संक्रमितको संख्या ३७ पुगेको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार काठमाडौं महानगरपालिकामा सबैभन्दा धेरै १४ जनामा हैजा संक्रमण पुष्टि भएको छ । काठमाडौंकै कागेश्वरी मनोहरामा नौ, गोकर्णेश्वरमा दुई, चन्द्रागिरिमा दुई तथा नागार्जुन, बूढानीलकण्ठ र कीर्तिपुर नगरपालिकामा एक/एकजनामा हैजा संक्रमण पुष्टि भएको छ ।

यस्तै, ललितपुरको ललितपुर महानगरपालिकामा तीन र महालक्ष्मी नगरपालिकामा एकजनामा हैजा पुष्टि भएको छ ।भक्तपुरको चाँगुनारायण र सूर्यविनायक नगरपालिकामा एक/एकजनामा हैजा देखिएको छ । नुवाकोटको ककनी गाउँपालिकामा पनि एकजनामा हैजा संक्रमण पुष्टि भएको महाशाखाले जनाएको छ ।

हालसम्म परीक्षण गरिएका धारा, ट्युवबेल, जारलगायत सबै स्रोतका पानीमा हैजा फैलाउन सक्ने जीवाणु भेटिएकाले पानी उमालेर मात्र पिउन महाशाखाले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस