भूकम्प पीडितको उद्धारमा लाग्न गृहमन्त्री खाणको निर्देशन

सफल खबर संवाददाता

आइतबार, १५ साउन २०७९, १३ : २८
भूकम्प पीडितको उद्धारमा लाग्न गृहमन्त्री खाणको निर्देशन

काठमाडाैँ  । गृहमन्त्री बालकृष्ण खाणले भूकम्पबाट भएको क्षति र गर्नुपर्ने उद्धारबारे सम्बन्धित जिल्ला प्रशासन कार्यालय र सुरक्षा निकायका प्रमुखसँग जानकारी लिएका छन् । उनले खोटाङका प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेढाई, भोजपुरका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरे, नेपाल प्रहरीका प्रदेश १ प्रमुख नायब महानिरीक्षक सुदीप गिरी र सशस्त्र प्रहरी बलका प्रदेश १ प्रमुख नायव महानिरीक्षक कमल गिरीलाई टेलिफोन गरी भूकम्पको क्षति र गर्नुपर्ने उद्धारबारे जानकारी लिएका हुन् । 

आइतवार बिहान खोटाङलाई केन्द्रविन्दु बनाई ६ म्याग्निच्युडको भूकम्प गएको थियो । सम्वादका क्रममा गृहमन्त्री खाणले घाइतेको उद्धार र घर भत्किएर बस्न नहुने भएकालाई अन्यत्र सार्ने काम यथाशक्य गर्न निर्देशन दिएका छन् । उनले उद्धार तथा राहतका लागि जिल्ला र प्रदेशको स्रोत साधनले नपुगेमा केन्द्रमा जानकारी गराउन प्रजिअ र सुरक्षा प्रमुखहरूलाई निर्देशन दिए । 

खोटाङका प्रमुख जिल्ला अधिकारी सेढाईका अनुसार मार्तिमबिर्ता आसपासलाई केन्द्र बनाएर भूकम्प गएको थियो । भूकम्पबाट साकेला गाँउपालिका–५ वृष्टि बस्ने विकास कटुवालको ढुंगा माटोको गारो भएको घर भत्किएको छ ।

त्यस्तै डाडागाँउ बस्ने प्रकाश प्रधानको घरको छानामा रहेको टायल झरेको, हलेसीतुवाचुङ.नगरपालिका ९ सल्ले बस्ने धुर्ब पौडेलको ढुंगा माटोको गारो भएको घर सामान्य चर्केको र सोही नगरपालिका ७ का सयङखुका गंगा राईको घर चर्किएको खोटाङ प्रहरीले जनाएको छ । राई घर चर्किएर बस्न नसक्ने भएपछि आफ्नो भाइको घरमा बसेको प्रहरीले जनाएको छ । 

अहिलेसम्म क्षतिको पूर्ण विवरण नआएको र क्षति पुगे–नपुगेकोबारे बुझ्ने क्रम जारी रहेको प्रहरीले जनाएको छ । कतैबाट सूचना प्राप्त हुनासाथ परिचालित हुने गरी नेपाली सेना, प्रहरी र विपद व्यवस्थापनको टोली तयारी अवस्थामा राखिएको प्रजिअ सेढाईले बताए । 

प्रतिक्रिया दिनुहोस