युरोकप फाइनलमा इंल्याण्डलाई जर्मनीको डर

सफल खबर संवाददाता

आइतबार, १५ साउन २०७९, १२ : ५७
युरोकप फाइनलमा इंल्याण्डलाई जर्मनीको डर

काठमाडाैँ  । महिला युरोकपको उपाधिका लागि आज घरेलु टोली इंल्याण्डले जर्मनीको सामना गर्दैछ । खेल वेम्बली स्टेडियममा नेपाली समयअनुसार राति पौने १० बजे सुरु हुनेछ । 

इंल्याण्डसामु पहिलोपटक युरो कप जित्दै इतिहास बनाउने अवसर छ । तर, उसलाई जर्मनीको बाधा पन्छाउन त्यति सहज भने हुने छैन । सन् १९६६ को पुरुष विश्वकप जितेयता इंग्ल्याण्डले अहिलेसम्म कुनै पनि ठूलो उपाधि जितेको छैन । त्यसैले महिला टोलीले वेम्बलीमा जित निकाले, त्यो वास्तवमै ऐतिहासिक हुनेछ र यसले धेरै अर्थ राख्नेछ । 

यदि साँच्चै उपाधि जिते, त्यहाँ महिला फुटबलले बेग्लै स्तर, लोकप्रियता र सम्मान पाउने छ । यो इंग्ल्यान्डका लागि मात्र होइन्, समग्र महिला फुटबलकै लागि राम्रो हो । तर, फुटबलमा चाहेर मात्र हुने त केही होइन । उसको बाटोमा प्रतिद्वन्द्वी भएर उभिएको छ, जर्मनी । इतिहासले के भन्छ भने जर्मनी त्यस्तो टोली हो, जसले आठपटक युरोपेली उपाधि जितेको छ ।उसले सन् २००९ को युरो फाइनलमा इंल्याण्डमाथि ६–२ को प्रभावशाली जित हात परेको थियो । तर, ती फरक दिन र परिस्थिति थिए । अहिले विश्व महिला फुटबलमा धेरै परिवर्तन आइसकेको छ र इंल्याण्डमा पनि ।

जहाँ इंग्ल्याण्ड महिला फुटबलमा उदाउँदो सूर्य हो भने जर्मनी अस्ताउँदो । तय छ, इंग्ल्याण्डले जितोस् भनेर आफ्नो टोलीलाई समर्थन गर्न प्रसिद्ध वेम्बलीमा ९० हजारको हाराहारीमा दर्शक आउने छन् । जुन आफैँमा कीर्तिमान हो, जसले देखाउँछ, इंग्ल्याण्डमा महिला फुटबलको अर्थ के हो ।

उत्तिकै मीठो संयोग के छ भने फाइनलमा त्यस्ता दुई टिम पुगेका छन्, जसले पूरा प्रतियोगितामै राम्रो खेलेको छन् । न त इंग्ल्याण्ड न जर्मनी भाग्यले फाइनल पुगेका हुन् । सेमिफाइनमा इंल्याण्डले स्विडेनमाथि ४–० को प्रभावशाली जित हात पार्द जर्मनीले फ्रान्समाथि २–१ को रोमाञ्चक जित निकालेको थियो । 

फाइनलमा सबैको ध्यान जर्मनीकी एलेक्जान्ड्रा पोप र इङल्याण्डकी बेथ मिडमाथि हुनेछ । दुवैले प्रतियोगितामा समान ६ गोल गरेका छन् । पोप महिला युरोपियन च्याम्पियनसिपमा लगातार पाँच खेलमा गोल गर्ने पहिलो खेलाडी बनेकी थिइन् ।

जर्मनीले हालसम्म खेलेका आठवटै युरो फाइनल जित्दा इंल्याण्डले दुईवटै फाइनल गुमाएको छ । यसले पक्कै पनि इंल्याण्डलाई केही झस्काउनेछ । इंल्याण्ड सन् १९८४ को फाइनलमा स्विडेन तथा २००९ मा जर्मनीसँगै पराजित हुँदै उप विजेतामा सिमित बनेको थियो ।

त्यस्तै, जर्मनीले १९८४, १९९१, १९९५, १९९७, २००१, २००५, २००९ र २०१३ मा उपाधि जितेको थियो । उपधि जित्ने क्रममा जर्मनीले नर्वेलाई चार, स्विडेनलाई दुई तथा इटाली र इंल्याण्डलाई एक/एकपटक हराएको छ । 

जारी युरोमा उत्कृष्ट प्रदर्शन गरिरहेका यी दुई टोलीबीचको फाइनल निकै प्रतिस्पर्धात्मक र रोमाञ्चक हुने अनुमान लगाउन सकिन्छ । इतिहास हेर्ने हो भने यी दुईले २७ खेलमा एक अर्काको सामना गरेका छन् । इतिहास हेर्दा इंग्ल्याण्ड निकै कमजोर छ । उसले २१ खेलमा पराजय बेहोरेको छ । 

इंग्लिस कप्तान लेह विलियमसन भन्छिन्, ‘यो त इतिहास भयो, दन्त्य कथाको जस्तै । वर्तमानको कुरा गरौं न, हामी प्रतियोगिताकै सबैभन्दा उत्कृष्ट टोलीका रूपमा रहेका छौं ।’

जर्मनीकी प्रशिक्षक मार्टिना भोस–टेकलेनबर्ग भन्छिन्, ‘हामीलाई थाहा छ, वेम्बलीको माहोल पूर्णतः इंग्ल्याण्डकै पक्षमा हुनेछ । तर, खेलको अन्त्य हाम्रो पक्षमा हुनेछ । हामी आफ्नो खेल खेल्नेछौं र विश्वास छ, जित्छौं पनि ।’

प्रतिक्रिया दिनुहोस