एनआईसी एसिया बैंकले नगद रकम सोझै मेसिनबाट जम्मा गर्न सकिने

सफल खबर संवाददाता

शनिबार, १४ साउन २०७९, १४ : ३८
एनआईसी एसिया बैंकले नगद रकम सोझै मेसिनबाट जम्मा गर्न सकिने

काठमाडौं । एनआईसी एसिया बैंकले नगद रकम सोझै मेसिनबाट जम्मा गर्न सकिने ‘नगद जम्मा’सेवाको सुरु गरेको छ । उक्त सेवामार्फत ग्राहकहरूले बैंकमा रहेको आफ्नो वा अन्यको खातामा नगद रकम जम्मा गर्न सक्ने बैंकले जनाएको छ ।

यस मेसिनबाट एक हजार र पाचँ सय रुपैयाँ दरका नोटहरू मात्र जम्मा गर्न मिल्छ । एक जनाको खातामा एक पटकमा अधिकतम ९९ हजार पाचँ सय रुपैयाँ गरी दैनिक अधिकतम नौ लाख ९९ हजार पाचँ सय रुपैयाँसम्म नगद जम्मा गर्न सकिने व्यवस्था रहेको बैंकले उल्लेख गरेको छ ।

यो नयाँ सेवाबाट नगद जम्मा गर्नका लागि उक्त मेसिनमा रकम जम्मा गर्न इच्छाएको खाता नम्बर उल्लेख गरेपछि मोबाइल नम्बरमा ओटीपी प्राप्त हुन्छ र उक्त ओटीपी नम्बर मेसिनमा उल्लेख गरेर भेरिफाइ भएपछि रकम जम्मा गर्ने प्रक्रिया सुरु हुने बैंकले जनाएको छ ।

उक्त मेसिनमा आफूले जम्मा गर्न चाहेको नगद रकम राखेपछि मेसिनले खातामा जम्मा गरिदिने र त्यसको जानकारी समेत एसएमएस तथा रिसिप्ट मार्फत उपलब्ध हुने बैंकले जनाएको छ । यो सेवा अहिले न्यूरोड बिशालबजार शाखामा सञ्चालन गरेको छ ।

प्रतिक्रिया दिनुहोस