नेपालबाट विदेश निर्यात हुने सुपारीको डीएनए परीक्षण गर्नुपर्ने

सफल खबर संवाददाता

शनिबार, १४ साउन २०७९, १४ : ३५
नेपालबाट विदेश निर्यात हुने सुपारीको डीएनए परीक्षण गर्नुपर्ने

काठमाडौं । अब नेपालबाट विदेश निर्यात हुने सुपारीको डीएनए परीक्षण गर्नुपर्ने भएको छ । शुक्रबार राष्ट्रिय सभा अन्तर्गतको दीगो विकास तथा सुशासन समितिको बैठकले सुपारी र उत्पादन भएको स्थान परीक्षण गर्न निर्देशन दिएको हो ।

विदेशबाट अवैध रूपमा नेपाल भित्रिएको सुपारी पुनः विदेश पठाउँदा नेपालमा उत्पादन भएको उत्पत्तिको प्रमाणपत्र भेटिन थालेपछि सरकारले नै चासो बढाएको छ । पछिल्लो समय निर्यात गर्न पाएको इजाजत भन्दा बढी सुपारी विदेश निर्यात हुन थालेको गुनासो बढ्दै गएपछि समितिले चासो देखाएको हो ।समितिले शुक्रबारको बैठकमा छलफलपछि सुपारीको डीएनए परीक्षण गरेर मात्र आयात, निर्यात गर्न निर्देशन दिएको छ ।

समितिको बैठकमा भन्सार विभागका प्रमुख कमलप्रसाद भट्टराईले स्थानीय कृषिज्ञान र नेपाल उद्योग वाणिज्य संघले उत्पात्तिको प्रमाणसहित सिफारिस गरेपछि सामान्य प्रक्रिया पुर्‍याएर निर्यात गर्न दिने गरेको बताए ।

केही दिनअघि विराटनगर भन्सारबाट भारततर्फ निकासी भइरहेको सुपारी बोकेको ट्रकलाई नेपाल प्रहरीले रोकेर फिर्ता ल्याइ अनुसन्धान गरिरहेको छ । प्रहरीको अनुसन्धानमा अवैध भएको आशंकामा नियन्त्रणमा लिएको सुपारीबारे राजनीतिक दलका शीर्ष नेतातहमा समेत सम्बन्ध जोडिएको देखिएको छ । 

प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले विराटनगर भन्सार नजिक नियन्त्रणमा लिइएको सुपारी अनुसन्धानको क्रममा रहेको बताए । पक्राउ परेको सुपारी बोकेको ट्रकमा भारतीय भन्सारको सिल लागेको बताए । उनले यसरी नेपालबाट भारततर्फ जाने मालबाहक गाडीमा नेपालको भन्सारको सिल लाग्नुपर्नेमा भारत भन्सारको सिल पाइएकाले शंका उब्जाएको र अनुसन्धानको विषय बनेको बताए । 

बैठकमा सांसदहरूले नेपालमा आयात र निर्यात हुने सुपारीको विषयमा गहन अध्ययन हुन आवश्यक रहेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस