भवानीयापुरमा बनेको होल्डिङ सेन्टर ठेकेदार कम्पनीले नेपाली सेनालाई हस्तान्तरण

सफल खबर संवाददाता

शनिबार, १४ साउन २०७९, १३ : ५८
भवानीयापुरमा बनेको होल्डिङ सेन्टर ठेकेदार कम्पनीले नेपाली सेनालाई हस्तान्तरण

काठमाडौं  । नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १४, भवानीयापुरमा बनेको होल्डिङ सेन्टर ठेकेदार कम्पनीले नेपाली सेनालाई हस्तान्तरण गरेको छ।

ठेकेदार कम्पनी हनुमान कन्ट्रक्सनले श्री नम्बर ४ बाहिनी अड्डाका बाहिनीपति सहायक रथी उत्तम विष्टलाई होल्डिङ सेन्टरको स्वामित्व हस्तान्तरण गरेको हो।२०७८ साउनमा सम्झौता भएर निर्माण थालिएको होल्डिङ सेन्टर पटक-पटक म्याद थप्दै सम्पन्न गरिएको थियो। होल्डिङ सेन्टर एक हजार बेडको रहेको छ।

होल्डिङ सेन्टरको निर्माण नेपाली सेनामार्फत नै ठेकेदारलाई दिइएको थियो। ठेकेदारले काम सम्पन्न गरेर नेपाली सेनालाई हस्तान्तरण गरेको छ। सेनाले उक्त संरचना नेपाल सरकारलाई बुझाउने तयारी गरेको छ।

श्री नम्बर ४ बाहिनी अड्डाका बाहिनीपति सहायक रथी उत्तम विष्टले संरचना तयार भइसकेकाले अब स्थानीय निकाय वा प्रमुख जिल्ला अधिकारी कसलाई हस्तान्तरण गर्ने हो, माथिबाट त्यसको आदेश आएपछि नेपाली सेनाले हस्तान्तरण गर्ने बताए।

सीमावर्ती जिल्ला भएको र सुरुवाती दुई चरणको कोरोना कालमा बाँके ‘हटस्पट’ बनेर विरामी राख्ने ठाउँ नभएपछि होल्डिङ सेन्टरको निर्माण गरिएको हो।यद्यपि, अहिले कोरोना संक्रमण व्यापक नभएकाले त्यो संरचना के का लागि प्रयोग हुन्छन्, त्यसको टुंगो लागिसकेको छैन।

प्रतिक्रिया दिनुहोस