मेस्सीले बार्सिलोनामै सन्यास लिउन् भन्ने चाहाना छः अध्यक्ष जोन लापोर्टा

सफल खबर संवाददाता

शनिबार, १४ साउन २०७९, १३ : ०९
मेस्सीले बार्सिलोनामै सन्यास लिउन् भन्ने चाहाना छः अध्यक्ष जोन लापोर्टा

काठमाडौं  ।  स्पेनिस क्लब बार्सिलोनाका अध्यक्ष जोन लापोर्टाले अर्जेन्टिनी फरवार्ड लियोनल मेस्सीको बहिर्गनमन राम्रोसँग नभएको र मेस्सीले बार्सिलोनामै सन्यास लिउन् भन्ने चाहना रहेको बताएका छन् ।

मेस्सी गत सिजनअघि बार्सिलोना छाडेर फ्रि ट्रान्सफरमा पेरिस सेन्ट जर्मेन (पिएसजी) मा अनुबन्धित भएका थिए । त्यसबेला अध्यक्ष लापोर्टाले बार्सिलोनाले मेस्सीको सम्झौता नवीकरण गर्न नसक्ने दाबी गरेका थिए ।

अहिले लापोर्टासँगै प्रशिक्षक जाभी हर्नान्डेजले मेस्सी बार्सिलोना फर्किएको हेर्ने चाहना राखेका छन् । ‘क्लबको अध्यक्षको रुपमा यो एउटा आकांक्षा हो । त्यसबेलाको घटनाको जिम्मेवार म लिन्छु, यो अस्थायी नै हो,’ लापोर्टाले भने, ‘बार्सिलोनामा मेस्सीको समय हामीले चाहे जसरी अन्त्य भएन । यो आर्थिक कारणले नै भएको हो ।’

त्यसैले अध्यक्ष लापोर्टाले मेस्सीले करिअरको अन्त्य बार्सिलोनाको जर्सीमा होस् भन्ने चाहना राखेका हुन् । बार्सिलोना यस समर ट्रान्सफरमा विशेष रूपमा सक्रिय  छ । अन्य टोलीहरू बार्सिलोनाले नयाँ खेलाडी अनुबन्ध गर्न क्लबले गरेको खर्चलाई लिएर आश्चर्यमा परेका छन् ।

‘हामीले राम्रोसँग काम गरिरहेका छौं भन्ने मलाई लाग्छ । खेलाडीहरू फेरि बार्सिलोना आउन चाहन्छन्,’लापोर्टाले थपे,‘सन्तुलित टिम बनाइरहेका छौं । जसले हरेक प्रतियोगिता जित्ने लक्ष्यसहित चुनौती दिन सकोस् ।’ उनले टिमभित्र हरेक पोजिसनमा दुई राम्रा खेलाडी रहेको बताए । 

प्रतिक्रिया दिनुहोस