पूर्व अर्थमन्त्रीमाथिको आरोप पुष्टि भएन : सभापति कर्ण

सफल खबर संवाददाता

शुक्रबार, १३ साउन २०७९, १७ : १९
पूर्व अर्थमन्त्रीमाथिको आरोप पुष्टि भएन : सभापति कर्ण

काठमाडौं । विशेष संसदीय छानविन समितिका सभापति लक्ष्मणलाल कर्णले पूर्व अर्थमन्त्रीमाथि लागेको आरोप पुष्टि हुन नसकेको बताएका छन् । समितिले तयार पारेको प्रतिवेदन प्रतिनिधि सभामा बुझाएपछि पत्रकारहरुलाई प्रतिक्रिया दिँदै सभापति कर्णले शर्मामाथि लगाइएको आरोप पुष्टि नभएको बताए । 

उनले १ सय २९ पेजको प्रतिवेदन तयार पारेको बताउँदै त्यसमा केही फरक मत पनि रहेको बताए । उनले जेष्ठ सदस्य रहेका कारण आफूलाई सभापति बनाइएको बताउँदै समितिले प्रतिवेदन दिन नसक्ने भनेर गरिएको प्रचारबाजीलाई झुटो सावित गरेको बताए । 

उनले समितिको छानविन सन्दर्भमा एमालेले गर्ने आलोचना कति सहि छ कति गलत छ त्यसका लागि समितिले तयार पारेको प्रतिवेदन अध्ययन गर्न आग्रह गरे । उनले छानविनका लागि कति धेरै मेहनत गरिएको छ भन्ने कुरा प्रतिवेदन हेरेर थाहा हुने बताए । 

यस्तै छानविन समितिका सदस्य शक्तिबहादुर बस्नेतले प्रमुख प्रतिपक्षी दल एमालेले लगाएको आरोप जस्तो अर्थमन्त्रालयमा अनाधिकृत ब्यक्ति प्रवेश गरेको नदेखिएको बताए ।  उनले भने–‘हामीले छानविनका क्रममा अर्थमन्त्रालय सम्बन्ध कर्मचारीहरु सचिवदेखि आवश्यक व्यक्तिसँग छलफल गरेका थियौँ । सीसीटिभीको सिष्टमदेखि उपलब्ध भएसम्म अध्ययन गर्यौँ । कतिपय सीसीटीभी फुटेज त्यहाँ नदेखिएको अवस्थामा नेपाल प्रहरीको फरेन्सिक ल्याबको सहयोगमा रिकभर पनि गरियो । अनाधिकृत ब्यक्ति त्यहाँ प्रवेश गरेको यथेष्ट आधारहरू देखिएन् । कर्मचारीहरूसँगको छलफलमा पनि त्यहाँ कोही अनाधिकृत ब्यक्ति पुगेको देखिएन् ।’

उनले करको दर हेरफेर गर्ने सन्दर्भमा अर्थमन्त्रालयमा कोही अनाधिकृत ब्यक्ति सहभागि नभएको समितिको निष्कर्ष रहेको बताए । गत असार केही सञ्चारमाध्यम र प्रमुख प्रतिपक्षी दलले बजेट निर्माणको क्रममा करको दर हेरफेरमा अनाधिकृत ब्यक्तिलाइ अर्थमन्त्रालयमा प्रवेश गराएको आरोप लगाएपछि पूर्व अर्थमन्त्री शर्माले गत २२ गते प्रतिनिधिसभा बैठकबाट छानबिनमा सहयोग गर्न राजीनामा घोषणा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस