अन्तर्राष्ट्रिय सम्बन्धका विज्ञ भन्छन् - नेपालको असंलग्न परराष्ट्रनीतिमा शंका गर्ने ठाउँ धेरै भयो

सफल खबर संवाददाता

शुक्रबार, १३ साउन २०७९, १६ : ४४
अन्तर्राष्ट्रिय सम्बन्धका विज्ञ भन्छन् - नेपालको असंलग्न परराष्ट्रनीतिमा शंका गर्ने ठाउँ धेरै भयो

काठमाडौँ  । अन्तर्राष्ट्रिय सम्बन्धका विज्ञ प्राध्यापक डा. खड्ग केसीले अमेरिकी स्टेट पार्टनरसिप प्रेग्राम (एसपीपी) का कारण नेपालको असंलग्न परराष्ट्रनीतिमा शंका गर्ने ठाउँ धेरै भएको बताएका छन् ।ललितपुरमा आयोजित बदलिँदो भूराजनीतिक अवस्था र नेपालबारे अन्तरक्रियात्मक कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले एमसीसी साँच्चिकै आइपीएसको अंग हो वा होइन भन्ने कुरा नागरिकले अझै बुझ्न नसकेको भन्दै यस बारेमा स्पष्ट हुन आवश्यक रहेको बताए ।

उनले व्याख्यात्मक टिप्पणी भनेर लाज छोप्ने आधारमा एमसीसी पास गरिएको उल्लेख गर्दै सरकारका पछिल्ला गतिविधिबाट एमसीसी आईपीएसको अंग हो वा होइन भन्ने कुरामा विश्वस्त हुनसक्ने स्थिति नरहेको बताए । उनले सरकारले कतै एमसीसी पास गरेर आईपीएसको अंग हुने बाटो खनिरहेको होइन ? भन्दै प्रश्न गरे ।अन्तर्राष्ट्रिय सम्बन्धका विज्ञ केसीले एसपीपी भित्रभित्रै फरक नाममा ल्याउन लागिएको आशंका गरे । उनले सरकारले नागरिकलाई एसपीपीको बारेमा जानकारी नगराउनु र एसपीपीको बारेमा मन्त्रिपरिषद्ले निर्णय गरेपछि पनि पत्र नपठाउनुले देशको असंलग्न परराष्ट्र नीतिमा विचलन आउनसक्ने आशंका रहेको बताए ।

उनले अमेरिकाले सन् २०१९ मा नै नेपाललाई क्रिटिकल पार्टनरको रुपमा उल्लेख गरेको बताए ।अन्तर्राष्ट्रिय सम्बन्धका विज्ञ केसीले नेपालमा बीआरआईलाई बुझेर नै पश्चिमा देशहरुले नेपाललाई बढी नियालिरहेको बताए । डा. केसीले अमेरिकाका राजनीतिक र सैनिक अधिकारीको बाक्लिँदो नेपाल भ्रमणले जनतामा विभिन्न संशय पैदा गरेको बताए ।

भूराजनीतिक मामिलाका विश्लेषकसमेत रहेका डा. केसीले नेपालमा बीआरआईमा हस्ताक्षर गर्दा नेपाली कांग्रेस र नेकपा माओवादीको सरकार रहेको प्रधानमन्त्री पुष्पकमल दाहाल र परराष्ट्रमन्त्री डा. प्रकाशशरण महत रहेको उल्लेख गर्दै सबै राष्ट्रिय दलको सहमतिमा नै बीआरआईमा हस्ताक्षर भएको बताए ।

उनले डोनाल्ड लू अमेरिकाको विदेश मन्त्रालयका उपसचिव भएको तर नेपालमा दक्षिण एशिया हेर्ने भनिसकेपछि ठूलो रुपमा बखान गरिएको दाबी गरे । उनले नेपालमा सचिवले नै दक्षिण एशिया थर्कमान बनाउँछन् भन्ने डर रहेको बताए ।

अन्तर्राष्ट्रिय सम्बन्धका विज्ञ केसीले एमसीसी इण्डोप्यासिफिकको अंग हो वा होइन भन्ने प्रशस्त वहसको विषय भएको बताए । उनले अमेरिकाले पटकपटक एमसीसीको बारेमा बताइरहँदासमेत नेपालले कुनै प्रतिक्रिया र देशको स्वाधिनताका लागि खबरदारी नगर्नुले नेपाली समाज नलेजिबल बनिनसकेको जस्तो महशुस भएको बताए ।

प्रतिक्रिया दिनुहोस