भारत लैजान लागेको १८ लाखको मदिरा प्रहरीद्वारा बरामद

सफल खबर संवाददाता

शुक्रबार, १३ साउन २०७९, ११ : ५८
भारत लैजान लागेको १८ लाखको मदिरा प्रहरीद्वारा बरामद

काठमाडौँ  । महोत्तरीको मनरासिस्वा नगरपालिका–५ स्थित नेपाल–भारत सीमा नजिकबाट प्रहरीले १८ लाख रुपैयाँ बराबरको मदिरा बरामद गरेको छ । भारततर्फ लैजान लागिएका उक्त मदिरा प्रहरीले बरामद गरेको हो । 

कटैया गाउँमा सीमापारि चोरी तस्करी गर्ने उद्देश्यले लुकाइछिपाइ भण्डार गरी राखिएको मदिरा बिहीवार राति बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिए । छ सय ६७ कार्टुनमा प्याक गरी राखिएको विभिन्न प्रकारको मदिरा प्रहरीचौकी कट्टीकटैया र जिल्ला प्रहरी कार्यालयको संयुक्त टोलीले बरामद गरेको विष्टले जानकारी दिए ।  

बरामद गरिएको मदिरा प्रहरीले आन्तरिक राजस्व कार्यालयको जिम्मा लगाएको छ । उक्त मदिरा ओसारपसारमा संलग्न व्यक्तिको पहिचान हुन नसकेको प्रहरीले जनाएको छ । मदिरा ओसारपसारमा संलग्न व्यक्तिहरूको खोजी कार्य जारी रहेको प्रहरीको भनाइ छ । 

प्रतिक्रिया दिनुहोस