इष्ट बंगानको प्रशिक्षकमा स्टेफन कन्स्टेन्टाइन

सफल खबर संवाददाता

विहीबार, १२ साउन २०७९, १६ : ५८
इष्ट बंगानको प्रशिक्षकमा स्टेफन कन्स्टेन्टाइन

काठमाडौं। नेपाल राष्ट्रिय फुटबल टोलीका पूर्व प्रशिक्षक स्टेफन कन्स्टेन्टाइन इन्डियन सुपर लिग (आईएसएल) क्लब इष्ट बंगानको मुख्य प्रशिक्षकमा नियुक्त भएका छन् । 

भारतीय राष्ट्रिय फुटबल टोलीका पूर्व प्रशिक्षकसमेत रहेका स्टेफनले सिजन सन् २०२२–२३ का लागि इष्ट बंगानसँग जोडिने निर्णय लिएका हुन् ।

५९ वर्षीय बेलायती नागरिक स्टेफनले इष्ट बंगानलसँग जोडिँदा खुसी र काम गर्न उत्साहित भएको बताए । ‘इमामी इष्ट बंगानको मुख्य प्रशिक्षक हुँदा निकै उत्साहित र खुसी  छु । त्यहाँ काम गर्न प्रतिक्षामा छु’, स्टेफनले भनेका छन् । 

स्टेफन भारतीय राष्ट्रिय फुटबल र क्लब फुटबल हेर्ने १०औं व्यक्ति भएका छन् । यस्तै, उनी दुबै टिम हेर्ने दोस्रो विदेशी भए । स्टेफनले जनवरी २०१५ देखि जनवरी २०१९ सम्म अन्तिम पटक भारतीय टिम हेरेका थिए । जुन समयमा भारतले थ्री नेसन्स सिरिज र इन्टर कन्टिनेन्टल कपको उपाधि जितेको थियो । 

त्यसअघि स्टेफनले भारतीय राष्ट्रिय टिम मे २००२ देखि अप्रिल २००५ सम्म हेरेका थिए । जहाँ भारतले एलजी कप र साफ च्याम्पियनसिप जितेको थियो । भारतीय टिम अघि स्टेफनले सन् १९९९ देखि २००१ सम्म नेपाली राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षकको रुपमा काम गरेका थिए । 

प्रतिक्रिया दिनुहोस