नागरिकतासम्बन्धी विधेयकको खुकुलो प्रावधानले संगठित अपराध बढ्ने चिन्ता छ: खिमलाल देवकाेटा

सफल खबर संवाददाता

विहीबार, १२ साउन २०७९, १४ : ५९
नागरिकतासम्बन्धी विधेयकको खुकुलो प्रावधानले संगठित अपराध बढ्ने चिन्ता छ: खिमलाल देवकाेटा

काठमाडौँ । राष्ट्रिय सभा सदस्य खिमलाल देवकोटाले नागरिकतासम्बन्धी विधेयकको खुकुलो प्रावधानले नेपालमा संगठित अपराध बढ्ने बताएका छन्।

बिहीबार राष्ट्रिय सभा बैठकमा नेपाल नागरिकता (पहिलो संशोधन), विधेयक २०७९ माथिको दफावार छलफलमा बोल्दै उनले यस्तो बताएका हुन्।विधेयकमा वैवाहिक अंगीकृतको सम्बन्धमा खुकुलो प्रावधान राखिएको उनको भनाइ छ। सांसद देवकोटाले भने, ‘नेपाली नागरिकसँग वैवाहिक सम्बन्ध भएकी विदेशी महिलाले नेपालको नागरिकता प्राप्त गर्न चाहेमा तोकिएको अधिकारीसमक्ष निवेदन दिनुपर्ने र त्यसरी निवेदन दिँदा विदेशी नागरिकता त्याग्ने कारबाही चलाएको

निस्सा पेस गर्नुपर्ने व्यवस्था छ। विदेशी मुलुकको नागरिकता त्याग गरेको कारबाही चलाएको सामान्य निस्सा मात्रै भए पुग्ने व्यवस्थाले विदेशी नागरिकता त्यागेको ठहरिँदैन। उसको निवेदन विदेशको सम्बन्धित निकायमा पुगेको पनि हुँदैन। ऊसँग दुईवटा नागरिकता कायमै रहन्छ। बरु २०७५ सालमा ल्याइएको विधेयकमा विवाह पछि नेपाली नागरिकता प्राप्त गरेको ६ महिनामा विदेशी नागरिकता त्यागेको प्रमाण पेस गर्नुपर्ने व्यवस्था थियो । यस्तो व्यवस्था विधेयकबाट हटाउनु दुर्भाग्यपूर्ण छ।’

उनले भारतमा छोरीलाई विवाह गरेर पठाएमा ७ वर्षसम्म कुर्दा केही नबोल्ने नेपालीले विदेशी बुहारीलाई नागरिकता दिनभने ६ महिना पनि कुर्न नसकेको टिप्पणी गरे।

प्रतिक्रिया दिनुहोस