लोकगायक लामाले बनाइदिए बाढी प्रभावितलाई घर

हिरालाल आचार्य ‘डायमण्ड’

शुक्रबार, १७ कार्तिक २०७४, २० : ४३
लोकगायक लामाले बनाइदिए बाढी प्रभावितलाई घर

चितवन । बाढीले घर भत्काएका विपन्न व्यक्तिहरुको घर निर्माण अभियानमा लागेका लोकगायक मिलन लामाले बाढी प्रभावित एक परिवारलाई शुक्रबार घर हस्तान्तरण गरेका छन् ।

रत्ननगर नगरपालिका वडा नम्बर आठस्थित सुकुम्बासी टोलका कर्ण गुरुङलाई दुईकोठे जस्तापाताले छाएको घर वडा अध्यक्ष विनोद बस्नेतको रोहवरमा हस्तान्तरण गरिएको हो । मिलन होेम नाम दिएर उनले सञ्चालन गरेको अभियान अन्तर्गत नेपाली महिला समूह ओमनको केही आर्थिक सहयोग र अन्य सहयोगीहरुले दिएको करिब पाँच लाख रुपैयाँमा घर निर्माण गरिएको लामाले जानकारी दिए ।

गत साउन अन्तिम साता आएको बाढीले घर भत्किँदा घरबारविहीन भएकाहरुलाई घर बनाइदिने अभियान चलाएका गायक लामाले यो अभियान अन्तर्गत यसअघि रत्ननगर नगरपालिका वडा नम्बर नौमा कान्छी तामाङ र रमाइलो सुकुम्बासी बस्तीटोलकी फूलकुमारी महतोलाई घर हस्तान्तरण गरिसकेका छन् । अभियान अन्तर्गत अझै दुई घर निमार्णाधीन छन् । कृष्णभिरमा जाम, माझीदाइ पोखरा फेवातालको, घरमा पराल बारीमा बन्सोलगायत चर्चित गीत गाएका लामा रत्ननगर नगरपालिका वडा नम्बर नौ मोहनाका स्थायी बासिन्दा हुन् ।

 

प्रतिक्रिया दिनुहोस